देश

कोप–२६ सम्मेलनमा हरितगृह ग्यासको उत्सर्जन कटौति गर्ने सहमति


काठमाडौँ – कोप–२६ सम्मेलनमा हरितगृह ग्यासको उत्सर्जन कटौति गर्ने सहमति भएको छ । विश्वव्यापी तापमानवृद्धिको असर सामना गरिरहेका अतिकम विकसित तथा विकासशील देशहरुलाई वित्तीय सहयोग गर्ने सहमति पनि सम्मेलनमा भएको छ ।

निर्धारित समयमा तयार भएको सम्झौताको मस्यौदामा विवाद भएपछि तोकिए भन्दा एक दिन ढिला गरी कोप–२६ मा सहमति भएको हो । खनिज इन्धनमा दिइँदै आएको सहुलियत अन्त्य गर्ने, विकासशील देशका लागि क्राइसिस रेस्पोन्स फण्ड खडा गर्ने, वर्ष दिनमा उत्सर्जन ठूलो मात्रामा कटौति गर्ने नयाँ लक्ष्यसहित भेला हुने सहमति बनेको छ ।

‘ग्लास्गो क्लाइमेट प्याक्ट’ नाम दिइएको सहमतिमा हरितगृह ग्यासको उत्सर्जनमा प्रमुख भूमिका रहेको खनिज इन्धन मध्येको कोइलाको प्रयोग घटाउने उल्लेख छ । कोइलाको प्रयोग कम गर्ने उल्लेख भएको यो पहिलो जलवायु सहमति हो ।