राजनीति

१० वर्षपछिको राष्ट्रिय जनगणना : जातजातिका लागि पहिचान र अधिकारको मागदाबीको अवसर (भिडियोसहित)



काठमाडौँ – कार्तिक २५ गतेदेखि राष्ट्रिय जनगणनाको १२ औं संस्करण जारी छ । मेरो गणना, मेरो सहभागिता’ भन्ने नारा सहित सुरु भएको राष्ट्रिय जनगणनामा यकिन तथ्याङ्क संकलन गर्नका लागि विभिन्न जातिय संघसंस्थाहरुले समेत सक्रियता देखाएका छन् ।

केहि दिन यता राष्ट्रिय जनगणनामा सहभागी गणकहरु नागरिकको घर दैलोमा पुगि तथ्याङ्क संकलन गरिरहेका छन् । कार्तिक २५ गते राष्ट्रपति विद्यादेवी भण्डारीको पारिवारिक विवरण संकलनसँगै औपचारिक रुपमा मुख्य गणना कार्य जारी छ ।
जनगणनाका हिसावले १२ औं राष्ट्रिय जनगणना भए पनि मुलुक संघीय संरचनामा गएपछिको पहिलो जनगणना भएको हुँदा तथ्याङ्क संकलन अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ । अन्तर्राष्ट्रिय मानक तथा वैज्ञानिक पद्धतिअनुसार नेपालमा पनि प्रत्येक १० वर्षमा जनगणना हुँदै आएको छ । देशको योजना र खाका निर्माणको आधाशिला समेत रहेको जनगणनामा वास्तविक अभिलेख सार्वजनिक गर्न केन्द्रिय तथ्याङ्क विभाग लागि परेको छ । जनगणनाबाट मुलुकको यकिन तथ्याङ्क सार्वजनिक गर्ने विभागको दावी छ ।

जनगणना २०७८ मा अर्को रोचक पक्ष केन्द्रिय तथ्याङ्क विभाग मात्र होइन अन्य विभिन्न समुदायका संघसंस्थाहरु पनि सक्रियताका साथ लागेका छन । राष्ट्रिय जनगणनामा आफ्नो समुदायको वास्तविक अभिलेख सार्वजनिक होस् भन्ने उदेश्य सहित उपत्यकासँगै देशैभर विभिन्न समुदायले आफ्नो समुदायभित्र सचेतनामुलक कार्यक्रमहरु गरिरहेका छन ।

विगतमा संकलन गरिएको तथ्याङ्कहरु त्रुटिपूर्ण रहेको हुँदा जारी जनगणनामा समुदायको वास्तविक चित्र कस्तो छ थाह पाउन र गणकहरुलाई सहयोग गर्ने उदेश्य सहित समुदायको बाहुल्यता रहेको क्षेत्रमा सचेतनामुलक कार्यक्रम गरेको उनीहरुको भनाई छ । यो वर्ष समुदायको भाषागत अवस्था,धार्मिक,साँस्कृतिक,शैक्षिक लगायत विविध पक्ष बारे वास्तविक अभिलेख आउनेमा आफुहरु विस्वथ्थ रहेको जातिय संघसंस्थाका प्रतिनिधिहरुको भनाई छ ।

मुलुकको जनगणना योजना नीति निर्माण तर्जुमा गर्न मात्र नभई शासन गर्ने आधार पनि हो । त्यस्तै जातिय समुदायका लागि आफ्नो पहिचान र अधिकारको मागदावी गर्न राज्यलाई दवाव दिने माध्यम पनि हो । यर्थाथ तथ्याङ्कका लागि सबै आदिवासी समुदायले यो अभियान चलाई राखेको आदिवासी अगुवाहरुको भनाई छ ।

जनगणना मानिसको गन्ती मात्र नभई मुलुकको आर्थिक,सामाजिक,शैक्षिक विविध पक्षमा मुलुकको वास्तविक अवस्था चित्रण गर्ने महत्वपूर्ण दस्तावेज हो । यहि दस्तावेजको आधारमा मुुलुकको विकास निर्माणका योजनाहरु तर्जुमा गरिन्छ । त्यसैले पनि जनगणनाप्रति सबैको चासो र चिन्ता हुनु स्वभाविक हो । जनगणनाप्रति सबै सरोकारवाला उत्तिकै उत्तरदायी हुन जरुरी छ ।