राजनीति

चिसिएको सम्बन्ध सुधार गर्न चीन र अमेरिकाका राष्ट्रपतिबीच वार्ताको तयारी


काठमाडौँ – चीनका राष्ट्रपति सी जिन पिङ र अमेरिकी समकक्षी जो बाइडेनबीच वार्ता हुने भएको छ । उनीहरुबीच आउँदो सोमवार वार्ता हुने समाचार संस्था रोयटर्सले जनाएको छ ।

ह्वाइट हाउसले एक विज्ञप्ति निकालेर राष्ट्रपति बाइडेन र चिनियाँ समकक्षी सीबीच भर्चुअल वार्ता हुन लागेको पुष्टि गरेको छ । छलफलमा दुवै शीर्ष नेताले आपसी समस्या समाधान र एक अर्काको चासोका विषयमा कुराकानी गर्ने तयारी छ । पछिल्लो समय चीन र अमेरिकाबीच व्यापार, आणविक उर्जालगायतका विषयमा विवाद बढेको छ ।

हङकङ र ताइवान मामिलामा अमेरिकाले चासो देखाएपछि दुवै देशबीच विवाद बढेको हो । तर स्कटल्यान्डको ग्लास्गोमा चलिरहेको सम्मेलन कोप–२६ मा कार्बनडाइअक्साइड उत्सर्जन गर्ने विश्वका दुई ठूला देश चीन र अमेरिकाले जलवायु परिवर्तनसँग जुध्ने प्रतिबद्धता जनाएसँगै हुन लागेको यो वार्तालाई महत्त्वका साथ हेरिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता प्रवक्ता वाङ वेनबिनले दुई देशबीचको सम्बन्धलाई सही र स्थिर विकासको बाटोमा फर्काउन अमेरिकाले चीनसँग मिलेर काम गर्नेमा आफू आशावादी रहेको बताएका छन ।