राजनीति

पार्टी निकट पत्रकारलाई मद्यपान नगर्न अध्यक्ष नेपालको निर्देशन


काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टी निकट पत्रकारहरुलाई जाडरक्सी नखान निर्देशन दिनु भएको छ । उनले पार्टी निकट पत्रकारहरुले रक्सी खाएको थाहा पाए आफूले राम्रो नमान्ने बताउनु भयो ।

पार्टी निकट समाजवादी प्रेस संगठन, नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले जाडरक्सी खाँदै नखान र राम्रो काम गरेर देखाउन पनि पत्रकारहरुलाई आग्रह गर्नु भयो । अध्यक्ष नेपालले भन्नुृ भयो, ‘तपाईहरुमा पनि साँझ पर्ने वित्तिकै पाँचतारे होटल धाईधाईकन नखाईकन निन्द्र नलाग्ने अवस्था पक्कै पनि छैन होला । यो कुरा भएको थाहा पाए भने म राम्रो मान्दिन ।

अध्यक्ष नेपालले लेखनमा, भाषणमा र नयाँ सूचना प्रवृतिको प्रयोगमा शक्ति आर्जन गर्न पनि पार्टी निकट पत्रकारहरुलाई आग्रह गर्नु भयो । उहाँले आफ्नो पार्टीले जनतालाई न्याय, समानता र समृद्धि दिलाउने गरी समाजवादको यात्रा तय गरेको दावी गर्नु भयो । त्यसका लागि अहिले पनि व्यक्तिवाद, निरंकुशतावादविरुद्धको लडाई लडिरहनु परेको अध्यक्ष नेपालको भनाई थियो ।