कोरोना विशेष

कोरोनाविरुद्धको फाइजर खोप आउँदै, देशभरका २४ अस्पतालमा उपलब्ध हुने (भिडियोसहित)


काठमाडौँ – सरकारले कोरोनाबिरुद्धको फाइजर खोप अभियान सञ्चालन गर्ने भएको छ । यो खोपको पहिलो मात्रा कार्तिक २८ देखि मंसिर ४ गतेसम्म सरकारले तोकेका देशभरका विभिन्न २४ अस्पतालहरुमा उपलब्ध हुनेछन् ।

सरकारले फाइजर–बायोएनटेक प्रयोग गरी कोभिड–१९ खोप अभियान सञ्चालन गर्ने भएको छ । यो खोपको पहिलो मात्रा कार्तिक २८ देखि मंसिर ४ गतेसम्म सरकारले तोकेका देशभरका विभिन्न २४ अस्पतालहरुमा उपलब्ध हुनेछ । खोप वचत भएमा मंसिर ५ देखि ७ गतेसम्म खोप लगाउन बाँकी रहेका दीर्घरोगीहरुलाई प्राथमिकतामा राखि र १२–१७ उमेर समूहका व्यक्तिहरुलाई लगाइनेछ । खोपको दोस्रो मात्रा पहिलो मात्रा लिएको २१ देखि २८ दिनपछि अर्थात् मंसिर २७ देखि पौष २ गतेसम्म दिइने स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ । यो खोप १२ वर्ष भन्दा माथिको जनसंख्यालाई मात्र दिन मिल्ने भएकोले सोही उमेर समूहलाई मात्र लगाइने छ । यो खोप १२ वर्ष माथिका दीर्घरोगीहरुलाई पहिलो प्राथमिकतामा राखेर दिइने छ ।

स्वास्थ्य मन्त्रालयले यस खोपको माग धेरै भएपनि दीर्घरोगीहरुलाई नै दिइने जनाएको छ । जसले नेपालमा पनि अल्ट्रा पोल्ट खोप सञ्चालन गर्न सकिन्छ भनेर देखाउने अवसर प्राप्त भएको छ । स्वास्थ्य सेवा विभागका अनुसार कोरोनाबिरुद्धको खोप लगाएपछि मानिसहरु एक किसिमले कवचधारी बन्नेछन् । तर कोरोना भाइरसको जोखिम कायमै रहेकोले मास्क, सामाजिक दूरी र सरसफाइलाई ध्यान दिनुपर्ने सरोकारवालाहरु जोड दिन्छन् ।

सरकारले सञ्चालन गर्न लागेको कोरोनाबिरुद्धको फाइजर–बायोएनटेक खोप अभियान वीर अस्पताल, श्री वीरेन्द्र सैनिक अस्पताल, सिभिल अस्पताल, त्रि.वि.शिक्षण लगायतका अस्पतालमा सञ्चालन हुनेछ । खोप दीर्घरोग भएको तथा उपचार गराइरहेको पूर्जा, उमेर खुल्ने प्रमाणपत्र देखाएपछि लगाउन पाइनेछ । यो खोप कोरोनाबिरुद्धको अन्य खोप लगाएको, १२ वर्ष भन्दा कम उमेरको, पहिलो मात्रा लगाएपछि गम्भीर प्रकारको एलर्जिक प्रतिक्रिया भएको व्यक्तिहरुले लगाउन नहुने महाशाखाले जनाएको छ । खोप लगाएपछि अनपेक्षित रुपमा सुई लगाएको ठाउँमा दुख्ने, टाउको दुख्ने, ज्वरो आउने, जाडो हुने, मांशपेशी दुख्ने, खान मन नलाग्ने, वाकवाकी लाग्ने, थकाइ लाग्ने, सुइ लगाएको हातको काखीको ग्रन्थी सुनिने लक्ष्ण देखा पर्न सक्छन् । तर यसबाट आत्तिनु पर्ने अवस्था भने नरहेको महाशाखाको भनाई छ ।