राजनीति

एमालेमा ओलीको रजगज, ओलीको हातमा अन्य नेताहरुको भविष्य (भिडियोसहित)


काठमाडौँ – पार्टीबाट प्रतिस्पर्धी, विद्रोही तथा वरिष्ठ नेताहरु बाहिरिएपछि एमालेमा ओली निर्विकल्प जस्तै देखिएका छन । फलतः पार्टीभित्र झनै शक्तिशाली बनेका ओलीले आन्तरिक प्रतिस्पर्धा सहजै जित्ने सम्भावना बढेको छ । अवस्था कस्तोसम्म बनेको छ भने अध्यक्षबाहेका पदमा जित्न समेत ओलीकै आडभरोसा आवश्यक बन्ने देखिएको छ ।

नेकपा एमाले यतिवेला आफ्नो दशौँ महाधिवेशनको रापतापमा देखिन थालेको छ । मंसिर १० देखि १२ सम्म चितवनमा हुने महाधिवेशनको लोगो समेत सार्वजनिक भईसकेको छ भने नेताहरु पनि पदको जोडघटाउमा लागि सकेका छन । तर वडा नगरसम्म सहमतीमै पदाधिकारीको टुङ्गो लगाएको एमालेले केन्द्रमा यसैलाई निरन्तरता दिने पक्षमा छ । यसैको निरन्तारता अध्यक्षमा ओली निर्विकल्पकै अवस्थामा छन । उनीभन्दा वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल लगायतका नेताहरुले अर्को पार्टी बनाएपछि ओली यो अवस्थामा पुगेका हुन ।

यद्यपी १० बुँदे सहमति कार्यान्वयन नगरेको भन्दै असन्तुष्ट रहेका भीम रावल तथा उपमहासचिव घनश्याम भुसालले ओलीलाई चुनौती दिने खबरहरु पनि बाहिरीएका छन । तर अहिले ओली समर्थक र विरोधीका रुपमा राजनीति धुव्रीकरण भएकोले ओलीलाई दोहोराउनुको विकल्प नभएको ओली पक्षीय नेताहरुले बताउदै आएका छन । पार्टी विभाजन भएकोले एमालेको सुदृढिकरण लागि पनि ओली आवश्यक रहेको र अबको कार्यकालका अध्यक्षमा उनी सर्वसम्मतिमै चुनिने नेताहरुको दाबी छ ।

यसले १० औं महाधिवेशनमा ओली निर्विकल्प अध्यक्ष बन्नेमा शंका छैन । साथमा उनले चाहेको व्यक्ति मात्र पदाधिकारी बन्ने समेत प्रष्ट भएको छ । फलतः पदाधिकारीमा आकांक्षा राख्ने सबैका आशा अहिले महाधिवेशनमा आउने प्रतिनिधिमा भन्दा अध्यक्ष ओलीमा अडिएको छ । अहिले ओलीको नजरमा नपर्ने डरले नेताहरुले आफू के उठ्ने भन्ने समेत भनिरहेका छैनन् । बरु ओली निर्विकल्प अध्यक्ष रहेको भजाँउदै उनको नजिक परेर उनकै निगाहमा पद हत्याउन उनीहरु सक्रियता बढेको छ ।

तर वरिष्ठ उपाध्यक्ष पदमा शंकर पोखरेलको उम्मेद्धारी रहने लगभग निश्चित छ भने रामबहादुर थापा, सुवास नेम्वाङ अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली, भीम रावल कम्तीमा पनि उपाध्यक्षको स्वभाविक दावेदार देखिन्छन । यता अध्यक्ष पछिको शक्तीशाली मानिएको पदमा शंखर पोखरेल विष्णु पौडेल,सुरेन्द्र पाण्डेको ईच्छा देखिएको छ । यद्यपी उनीहरु अझै पनि हल्ला गर्ने समय नआएको भन्दै बसिरहेका छन । अर्थात भित्रभित्र ओलीको उत्ताराधीकारी बन्न मरिमेटर लागिरहेका उनीहरुले ओलीको साथले मात्र आफ्नो भावी यात्रा निर्धारण गर्ने सन्देश दिईरहेका छन । अझ गज्जब त के छ भने दश बुँदेको कार्यान्वयनमा नहुने ओलीको बोलीमा समेत त्यहि जस्केलोबाट आएकाहरुले समेत खासै प्रश्न उठाएका छैनन् ।

हुन त आफै विभाजनको शिकारमा परेको एमालेका लागि सहमती कै आधारमा पदाधिकारी चयन हुनुले राम्रै सन्देश जाला । तर रावल, भुसाल लगायतका नेताहरुले पनि ईच्छा देखाउदै गर्दा फरक धुव्रकै कारण पेलेर बढे त्यसले ओलीमा व्यक्तिवादी चरित्र भएको आरोपलाई पुष्टि गर्छ । जुन ओलीका पछिल्ला गतिविधहरुले समेत प्रमाणित गर्दै आएको छ ।