राजनीति

सर्वोच्च अदालतमा बन्दीका मुद्दामा पनि भएन सुनुवाइ


काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले शुक्रबार बन्दी प्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोक्नुभएको थियो तर न्यायाधीशहरु इजलासमा नबस्दा कुनै पनि सुनुवाइ हुन सकेन । प्रधानन्यायाधीश जबराले आठवटा इजलासमा पेसी तोक्नुभएको थियो । तीमध्ये सात संयुक्त र एउटा एकल इजलास थियो । ती सबै इजलासमा ‘बेञ्च नबसेको’ भनेर जनाइएको छ ।

यसअघि न्यायाधीशले बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ गरेका थिए तर आज ती मुद्दामा पनि सुनुवाइ भएन । यही कात्तिक ७ गते आइतबारदेखि प्रधानन्यायाधीशमाथि लागेका आरोपका कारण उठेको प्रश्नको जवाफ माग गर्दै न्यायाधीशहरुले मुद्दामा सुनुवाइ गर्न इन्कार गरेका थिए । बीच–बीचमा बन्दीको मुद्दामा मात्र सुनुवाइ भएको छ ।