देश

मूल्य फिर्ता नलिए यातायात व्यवसायी महासंघले आन्दोलन गर्ने


काठमाडौँ – सार्वजनिक यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिको विरोधमा सडक आन्दोलन गर्ने तयारी गरेको छ । पेट्रोलियम पदार्थको मुल्यवृद्धिसँगै वैज्ञानिक भाडादर समायोजनको माग गर्दै महासंघले आन्दोलनको तयारी गरेको हो ।

महासंघका महासचिव सरोज सिटौलाले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिए सवारी साधन ठप्प पार्नेसम्मको आन्दोलन गर्ने चेतावनी दिए
। उनकाअनुसार आन्दोलनको औपचारिक घोषणा महासंघको बैठकपछि हुनेछ ।

वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेश भाडा निर्धारण समायोजन तथा विद्युतीय माध्यमबाट भाडा भुक्तानी नियमावली २०७८ को नियम ६ को उपनियम २ को अधिकार प्रयोग गरी २३ प्रतिशत गाडीभाडा बढाएको थियो ।

सरकारले पेट्रोलियम पदार्थको मुल्यवृद्धिसँगै २८ प्रतिशत भाडा बढाउनुपर्ने भन्दै महासंघले आपत्ति जनाएको थियो । अहिले पुन: पेट्रोलियम पदार्थको मूल्य बढाइएको छ ।