देश

वि.पी. प्रतिष्ठानमा भएको अनियमितता बारे छानबिन गर्न बनेको आयोगले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन


काठमाडौँ – वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको अनियमितताको बारेमा छानबिन गर्न बनेको तीन सदस्यीय छानबिन आयोगले प्रधानमन्त्री तथा कूलपति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ । आज स्वास्थ्य तथा जनसंख्यामन्त्री बिरोध खतिवडासहितको तीन सदस्यीय छानबिन आयोगले प्रधानमन्त्री देउवालाई प्रतिवेदन बुझाएको हो ।

प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा स्वास्थ्यमन्त्री खतिवडाले अबको हप्तादिन भित्र प्रतिष्ठानको समस्या समाधान हुने बताउनुभयो । उहाँले यो प्रतिवेदन यसअघिका प्रतिवेदन र आन्दोलनरत पक्षका कुराहरुलाई छलफल गरेर बनाइएको बताउनुभयो । स्वास्थ्यमन्त्री खतिवडाले हप्ता दिनमा प्रधानमन्त्रीले सिनेटको बैठक बोलाउने र बैठकबाटै निर्णय गरिने बताउनुभयो ।

स्वास्थ्यमन्त्री खतिवडाको अध्यक्षमा बनेको छानबिन आयोगमा स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल, धरान उपमहानगरपालिकाका प्रमुख तिलक राई हुनुहुन्छ । प्रतिष्ठानका चिकित्सक, विद्यार्थी र कर्मचारीहरुले शैक्षिक, आर्थिक प्रशासनिक र स्वास्थ्य सेवा सुधार हुनुपर्ने, अनियमितताको छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै चार महिनायता निरन्तर आन्दोलन गरिरहेका छन् ।