राजनीति

सर्वोच्चमा बारका पदाधिकारी र प्रहरीबीच झडप, ६ जना घाइते (भिडियोसहित)


काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सबै खालका इजलास तोक्न थालेपछि नेपाल बार एसोसिएसनले आन्दोलनलाई थप शसक्त बनाएको छ । बिहिबार सर्वोच्च अदालत प्राङ्गणमै चर्को नाराबाजीका साथ आन्दोलन भएपछि प्रहरीले हस्तक्षेप गर्नुपर्ने अवस्था आयो । सो क्रममा ६ जना घाइते भएका छन् ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै बार एसोसिएसनले निरन्तर आन्दोलन गरिरहेको छ । बिहीवार सर्वोच्च अदालत प्राङ्गणमा विरोधको कार्यक्रम गर्न पुगेको बारका पदाधिकारी लगायतका अधिवक्ताहरुलाई प्रहरीले बल प्रयोग गरी सर्वोच्च प्राङ्गणबाट बाहिर निकालेको छ । माइक राखेर कार्यक्रम गर्न खोज्दा प्रहरीले माइक हटाइ अधिवक्ताहरुलाई सर्वोच्च अदालतको प्राङ्गण बाहिर निकालेको हो ।

नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशविरुद्धको आन्दोलनमा बार मात्रै लागेर नपुग्ने भन्दै आम नागरीकहरु राजीनामा माग्दै सडकमा आउनुपर्ने बताए । उनले न्यायपालिकाको सुधारमा बाधक बन्नेहरुको राजीनामा पछि पनि सम्पति विवरण सार्वजनिक गर्ने र जफत गराउन लाग्ने बताए । उनले आफुहरुलाई स्वच्छ, निर्भिक र स्वतन्त्र प्रधानन्यायाधीश चाहिएको भन्दै त्यस किसिमको प्रधानन्यायाधीश नल्याउञ्जेल आन्दोलन जारी रहने बताए ।

नेपाल बार एसोसिएसनले शुक्रवार प्रधानन्यायाधीशलाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने भएको छ । अध्यक्ष श्रेष्ठले बिहान १० बजे प्रधानन्यायाधीशलाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउनका लागि सर्वोच्च गेटमा उपस्थित हुन कानुन व्यवसायीहरुलाई आग्रह गरे । उनले न्यायाधीशहरुलाई वेञ्च बहिष्कार गर्न तथा प्रधानन्यायाधीशले तोकेको इजलासमा नबसेर आन्दोलनमा सघाउन पनि आग्रह गरे । विरोध कार्यक्रममा वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद भण्डारीले प्रधानन्यायाधीश जबरा प्रजातन्त्रलाई समाप्त पार्ने षड्यन्त्रमा लागेको बताए । उनले प्रधानन्यायाधीश देशद्रोही गिरोहको मान्छे भएको आरोप लगाउँदै यस्तो प्रधानन्यायाधीश स्वीकार नहुने बताए ।

सर्वोच्चमा भएको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा केही समय झडप भएको थियो । झडपमा ६ जना घाइते भएका छन् । कानुन व्यवसायीहरुले शुक्रबार सर्वोच्च अदालतका सम्पूर्ण इजलासमा बहस पैरवी नगर्ने घोषणा गरेका छन् । अदालतमा भएको धर्नाका क्रममा प्रहरीले बल प्रयोग गरेको विरोधमा नेपाल बार एशोसिएसनले यस्तो घोषणा गरेको हो ।