राजनीति

ओली विरोधीलाई ठेगान लगाउँदै, १० बुँदे पक्षले भन्यो ओलीनै अध्यक्ष (भिडियोसहित)


काठमाडौँ – मंसिर दोस्रो साता राष्ट्रिय महाधिवेशनको मिति तय गरेको नेकपा एमाले घनिभूत रुपले तयारी गरिरहेको छ । यसअघि विधान महाधिवेशन र वडा तथा पालिका अधिवेशन सम्पन्न गरेको एमालेले अधिकांश सर्वसम्मतिबाट नेतृत्व चयन गरेको छ । तर सर्वसम्मतिको नेतृत्व चयन लोकतान्त्रिक अभ्यासभन्दा पनि पार्टीभित्रको अधिनायकवादी शैलीमार्फत गरिएको भन्दै आलोचना भएको छ ।

पार्टीभित्रको अब्बल विरोधी समूह विभाजनपछि चोइटीएर गएसंगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आगामी महाधिवेशनमा निर्विकल्प छन् । केही बचेकुचेका असन्तुष्टहरुलाई समेत दबाएर ओली पुनः सर्वसम्मतिबाट अध्यक्ष बन्ने लाइनमा छन् । उस्तै गरि नेतृत्व चयन कात्तिक ६ मा भएको वडा र ९ मा भएको पालिका अधिवेशनमा समेत देखिएको छ । अधिवेशन सम्पन्न भएका अधिकांश जिल्लामा अध्यक्ष ओली समुहले अधिनायकवादी शैलीमा असन्तुष्टलाई पाखा लगाएर सर्वसम्मतिबाटै नेतृत्व चयन गर्ने सफल भएको छ । जसलाई लोकतान्त्रिक पार्टीको अलोकतान्त्रिक अभ्यासका रुपमा चित्रण गरिएको छ । तरपनि एमाले तल्लोतहदेखि केन्द्रसम्म सर्वसम्मतिमार्फत नै नेतृत्व चयनमा अघि बढेको छ ।

अध्यक्ष ओलीले केन्द्रबाटै सर्वसम्मतिको ह्वीप चलाएपछि तल्लो तह पनि चुनावभन्दा सहमतिमै नेतृत्व चयन गर्न बाध्य बनेको छ । जसले नीति र नेतृत्व चयन गर्न महत्वपूर्ण मानिएको महाधिवेशनमा अधिनायकवाद र गुट हाबी हुने विश्लेषकहरु बताउँछन् । विरोधीहरुलाई ठेगान लगाउँदै अघि बढेका ओलीको प्रेसर यतिसम्म परेको छ कि, १० बुँदे सहमति कार्यान्वयनलाई आधार मानेर एमालेमै रोकिएका नेताहरु पनि अब ओलीको विकल्प देख्न छोडेका छन् । यसले आगामी महाधिवेशनमा समेत ओलीविरुद्ध उठ्ने साहस कसैले गर्ने देखिदैन । बरु अध्यक्षमा ओली निर्विकल्प र पदाधिकारीको छनौटसमेत ओलीकै आशिर्वादमा हुने लगभग निश्चित बनेपछि लोकतान्त्रिक अभ्यास र प्रतिपस्र्धाबाट एमाले पछि हटेको विश्लेषण गरिएको छ ।

प्रतिनिधि छनौटकै तहदेखि ओलीलाई टक्कर दिन नसक्ने स्थिति निर्माण गरिएको छ । यसले महाधिवेशनमार्फत निर्वाचित हुनुपर्ने १५ पदाधिकारी, ४५ स्थायी कमिटि सदस्य, २ सय २५ केन्द्रीय सदस्यमा समेत ओलीकै ठाडो आदेशमा पद बाँडिने निश्चित छ । त्यसैले अहिलेदेखि नै नेताहरु अध्यक्ष ओलीलाई रिझाउन मरिहत्ते गर्न थालेका छन् । तर एउटा जीवन्त पार्टीमा प्रतिपस्र्धा र चुनाव नै लोकतान्त्रिक अभ्यास मानिदै आएका बेला एमालेमा भइरहेको कसरतले भने गम्भिर प्रश्न उब्जाएको छ ।