देश

मदिराको विज्ञापन गर्ने र गराउनेलाई कारबाही गर्ने बोर्डको चेतावनी


काठमाडौँ – मदिरा कम्पनीको विज्ञापन गर्ने र गराउनेलाई कारबाही गर्ने विज्ञापन बोर्डले चेतावनी दिएको छ । चाडपर्वको समयमा सर्वसाधारणको जनस्वास्थ्यमा असर पर्ने मदिरा तथा सुर्तीजन्य वस्तुको विज्ञापनले व्यापकता पाएपछि बोर्डले यस्तो चेतावनी दिएको हो । जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४५ को उपदफा १ मा मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थको विज्ञापन गर्न नपाइने व्यवस्था छ ।

साथै, विज्ञापन नियमन गर्ने ऐन, २०७६ को दफा ५ को उपदफा १ (छ) मा ‘प्रचलित कानूनले विज्ञापन गर्न निषेध गरेका बिषयमा विज्ञापन गर्न नहुने’ व्यवस्था गरेको छ । चाडबाडको समयमा केही पत्रपत्रिका लगायत विभिन्न सञ्चारमाध्यममा प्रचलित कानून विपरीत मदिराका विज्ञापन प्रकाशन तथा प्रसारण भएको थियो ।

यस्तै, देशका विभिन्न भागमा राखिएका होर्डिङ बोर्डमा समेत त्यस्ता विज्ञापन देखिएको बोर्डको भनाइ छ । उक्त कार्य जनस्वास्थ्य सेवा ऐन, २०७५ तथा विज्ञापन नियमन गर्ने ऐन, २०७६ विपरीत भएकोले मदिरा तथा सुर्तीजन्य पदार्थको विज्ञापन प्रकाशन तथा प्रसारण तत्कल रोक्न बोर्डले चेतावनी दिएको हो ।