देश

एमालेद्वारा महाधिवेशन स्थलको अवलोकन


काठमाडाैँ – नेकपा एमालेका शीर्ष नेताहरुले महाधिवेशन स्थलको अवलोकन भ्रमण गर्नुभएको छ । बिहीबार पार्टीका महासचिव ईश्वर पोखरेलको नेतृत्वमा गएको टोलीले एमालेको महाधिवेशनको उद्घाटनको कार्यक्रम हुने स्थल नारायणी नदी किनारको स्थलगत अवलोकन गरेका हुन् ।

पार्टीका महासचिव ईश्वर पोखरेल सँगै नेताहरु विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, योगेश भट्टराईलगायतका शीर्ष नेताहरु महाधिवेशन स्थल नारायणी किनारको अवलोकन गर्न चितवन पुग्नु भएको थियो । उनीहरुले महाधिवेशनको बन्दसत्र हुने सौराहमा पनि स्थलगत अवलोकन गरेका छन् ।

चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव ईश्वर पोखरेलले महाधिवेशन स्थलको निरीक्षण र आवश्यक तयारीका लागि चितवन आएको बताउनुभयो । महासचिव पोखरेलले पार्टीभित्र १० बुँदे सहमति आधारभूतरुपमा कार्यान्वयन भइसकेको र केही ठाउँमा विवाद भए स्थानीय स्तरबाटै टुंगो लगाउने बताउनुभयो ।