राजनीति

बारका पदाधिकारी र प्रहरीबीच झडप हुँदा ६ जना घाइते


काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले आन्दोलन जारी राखेको छ । बिहीबार सर्वोच्च अदालत प्राङ्गणमा विरोधको कार्यक्रम गर्न पुगेको बारका पदाधिकारी लगायतका अधिवक्ताहरुलाई प्रहरीले बल प्रयोग गरी सर्वोच्च प्राङ्गणबाट बाहिर निकालेको छ । माइक राखेर कार्यक्रम गर्न खोज्दा प्रहरीले माइक हटाइ अधिवक्ताहरुलाई सर्वोच्च अदालतको प्राङ्गण बाहिर निकालेको हो ।

नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशविरुद्धको आन्दोलनमा बार मात्रै लागेर नपुग्ने भन्दै आम नागरीकहरु राजिनामा माग्दै सडकमा आउनुपर्ने बताउनुभयो । उहाँले न्यायपालिकाको सुधारमा बाधक बन्नेहरुको राजिनामा पछि पनि सम्पति विवरण सार्वजनिक गर्ने र जफत गराउन लाग्ने बताउनुभयो ।

नेपाल बार एसोसिएसनले भोलि प्रधानन्यायाधीशलाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने भएको छ । अध्यक्ष श्रेष्ठले बिहान १० बजे प्रधानन्यायाधीशलाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउनका लागि सर्वोच्च गेटमा उपस्थित हुन कानुन व्यवसायीहरुलाई आग्रह गर्नुभयो । आन्दोलनका क्रममा सर्वोच्च अदालतमा वकिल र प्रहरीबीच झडप हुँदा ६ जना घाइते भएका छन् ।