राजनीति

पेट्रोलियम पदार्थ मूल्यवृद्धिको विरोध गर्दै बुटवलमा चक्काजाम


काठमाडौँ – नेपाल आयल निगमले उपभोक्ताको ढाड सेक्ने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेपछि त्यसको विरोध गर्दै बुटवलमा विद्यार्थी संगठनले चक्काजाम गरेका छन् । नेकपा एमालेको भातृसंगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)को नेतृत्वमा मूल्यवृद्धि फिर्ता गर्न मागसहित विद्यार्थीहरु शुक्रबार बिहान देखि नै सडकमा उत्रिएका हुन् ।

सरकारले कोरोनाबाट बल्ल उठ्न खोज्दै गर्दा इन्धनको मूल्य बढाएर आहत दिने काम गरेकोले सरकारलाई मूल्यवृद्धि फिर्ताको लागि दबाब दिन बिहान ९ बजेदेखि राजमार्ग बन्द गरेको अनेरास्ववियू रुपन्देहीका सचिव प्रकाश पराजुलीले बताए । निगमले डिजेल, पेट्रोल र मट्टीतेलको भाउ प्रतिलिटर तीन रुपैयाँ र एलपी ग्याँसको मूल्य प्रतिसिलिण्डर ७५ रुपैयाँले बढाएको छ । अब पेट्रोल प्रतिलिटर एक सय ३६ रुपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य एक सय १९ रुपैयाँ कायम भएको छ ।

त्यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य १५७५ पुगेको छ । निगमले यसअघि गत कात्तिक १२ गते पनि मूल्यवृद्धि गरेको थियो ।