राजनीति

सर्वोच्चमा सबै खाले मुद्दामा पेशी तोकियो, बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस पैरवी नगर्ने


काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज पनि सबै खाले मुद्दाको पेशी तोक्नुभएको छ । सर्वोच्च अदालतमा आजका लागि ९ वटा इजलास तोकिएको छ । प्रधानन्यायाधीश जबराको सहित तीन एकल इजलास, एक पूर्ण इजलास र पाँच संयुक्त इजलास तोकिएको छ ।

आजका लागि १७७ वटा मुद्दाको पेशी तोकिएको सर्वोच्च प्रशासनले जनाएको छ । यसैबीच, सर्वोच्च अदालतका असन्तुष्ट न्यायाधीशहरु इजलासमा फर्के पनि कानून व्यवसायीहरु बहस पैरवीमा नजाने भएका छन् । असन्तुष्ट न्यायाधीशहरुमध्ये केही इजलासमा फर्किने संकेत मिलेको भन्दै नेपाल बार एसोसिएसनले त्यस्तो अवस्थामा ‘बन्दी प्रत्यक्षीकरण’ बाहेकका कुनै निवेदनमा सुनुवाइ नगर्ने भएको हो ।

बारका महासचिव लिलामणी पौड्यालले केही न्यायाधीशहरु इजलासमा फर्के पनि बार आफ्नो अडानबाट विचलित नहुने बताउनुभयो । पौड्यालले कानून व्यवसायीहरुले बन्दी प्रत्यक्षीकरणका निवेदनहरु प्रधानन्यायाधीश जबरा बाहेकको जुनसुकै इजलासमा पनि हेर्ने बताउनुभयो ।