देश

छठ पर्वको महत्व के छ ? छठ पर्वमा किन दिइन्छ सुर्यलाई अर्घ ? (भिडियोसहित)


काठमाडौँ – छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिएर मनाइएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व विहिबार उदाउँदो सुर्यलाई अर्घ दिएपछि समापन हुनेछ ।

सोमबारबाट सुरु भएको छठ पर्वको चौथो र मुख्य दिन आज साँझमा अस्ताउँदो सूर्यको पूजा आराधना गरी अघ्र्य दिएर छठ पर्व मनाइएको छ । गत वर्ष कोरोनाका कारण सुनसान उपत्यकाको गौरीघाट, कमलपोखरी लगायतका जलाशयहरुमा छठ पुजाका लागि व्रतालुहरुको घुइँचो छ । उपत्यकासँगै विशेषगरी मिथिला क्षेत्रमा ब्रतालुहरुले सजाइएको घाटमा मिष्ठान्न परिकार राखिएका डाली हातमा उठाएर अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिने गर्दछन् ।

छठ पर्वको मुख्य दिन आज राष्ट्रपति विद्यादेवी भण्डारीले गौरीघाट र कमलपोखरीमा छठी माताको पूजा अर्चना गरेकी छिन् । राष्ट्रपति भण्डारीले कमलपोखरी र गौरीघाटमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर छठ पुजा गरेकी हुन् ।

प्रकृतिको पुजा गर्ने, सम्मान गर्दै आदरभाव प्रकट गर्ने छठ पर्वको पहिलो दिन व्रतालुले ‘नहाए खाए’ अर्थात् नुहाएर खाने विधि पूरा गरी छठपर्वको शुभारम्भ गर्छन । दोस्रो दिन खर्ना मनाइन्छ । जस अन्तर्गत ब्रतालुहरुले दिनभरि उपवास बसेर राति खीर, पुरी कुलदेवता र सूर्य देवतालाई चढाई खानेकुरा खान्छन् भने तेस्रो दिन ब्रतालुले दिनभरि आ–आफ्नो घरमा विभिन्न प्रकारका पकवान बनाएर, केरा, स्याउ, अदुवा, उखुसहित विभिन्न प्रकारका माटाका भाँडामा राखेर साझँपख नदी तलाउमा गई अस्ताउँदो सूर्यलाई अघ्र्य दिने परम्परा छ । रातभरि नदी, तलाउ तथा पोखरीको डिलमा जाग्रम बस्ने र भोलिपल्ट बिहान पुनः उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठपर्व समापन गरिन्छ ।

विगतका वर्षहरुमा मिथिला क्षेत्रमा मात्र सिमित छठ पर्व पछिल्लो समय अन्य समुदायले पनि अनुसरण गर्ने गरेका छन् । आजभोलि राष्ट्रिय पर्वको रुपमा छठ पर्व मनाइदा यसको अपनत्व बढेको छ । पर्वहरुलाई राष्ट्रिय सँस्कृतिको रुपमा अपनत्व गर्नुको सट्टा संस्कृतिभित्र पनि राजनीतिले प्रवेश पाएको छ । सस्कृतिभित्र पनि खण्डीकरणको सुरुवात भएको आभास हुन्छ । समाजको यो पछिल्लो स्वरुप नेपाली मानसिकताको उपज भएको र यसतर्फ ध्यानकर्षण हुनुपर्ने संस्कृतिविद्हरुको तर्क छ ।

प्रकृतिप्रतिको सम्मान र आदरभाव प्रकट गर्ने छठ पर्वमा सूर्य उपासना गरिन्छ । छठपर्वलाई श्रद्धा, निष्ठा र समर्पणको प्रतिक मानिन्छ । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथनमा सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको उल्लेख छ ।