राजनीति

एमसीसी फिर्ता लिन अमेरिकालाई वामदेव गौतमको आग्रह


काठमाडौँ – नेकपा एमाले छाडेर नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बनेका वामदेव गौतमले नेपाल सरकार र अमेरिकासँग अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना फिर्ता गर्न आग्रह गर्नुभएको छ । राष्ट्रिय सभा सदस्य समेत रहनुभएका गौतमले बुधबार एक विज्ञप्ति जारी गर्दै एमसीसी परियोजनाले नेपालको हित भन्दा पनि जनमतको विभाजनका कारण गम्भीर अहित हुने अवस्था सृजना हुने देखिएकाले उक्त परियोजना फिर्ता गर्नुपर्ने बताउनुभएको हो ।

एमसीसी परियोजनाले नेपालको हित भन्दा पनि जनमतको विभाजनका कारण गम्भीर अहित हुने अवस्था सृजना हुने देखिएकाले उक्त परियोजना फिर्ता गर्न विनम्र अनुरोध गर्दछु’, गौतमले विज्ञप्तिमार्फत भन्नुभएको छ । उहाँले नेपालमा अहिलेको जटिल अवस्थामा बनेको सरकार र बहाल रहेको संसदले एमसीसी अनुमोदन गर्न सक्ने अवस्था नरहेको समेत बताउनुभएको छ ।

‘यो अवस्थालाई मध्यनजर गर्दै एक पक्षीय रुपमा भए पनि मित्र राष्ट्र संयुक्त राज्य अमेरिकी सरकारलाई एमसीसी परियोजना फिर्ता लगेर नेपालको हित प्रवद्र्धन गर्न विनम्र अनुरोध गर्दछु’, गौतमले नेपाल सरकार र अमेरिकालाई अनुरोध गर्नुभएको छ ।