राजनीति

एमालेले महाधिवेशन खर्च पार्टी सदस्यबाटै उठाउने, एक जनाले कम्तीमा १ सय रुपैयाँ दिनुपर्ने


काठमाडौँ – नेकपा एमालेको आगामी मंसिर १० देखि १२ सम्म हुने दशौं राष्ट्रिय महाधिवेशनमा खर्च हुने रकम पार्टी सदस्यहरुबाटै उठाउने भएको छ । एमालेले पार्टीको १० औं महाविधेशनका लागि प्रत्येक संगठित सदस्यबाट कम्तीमा एक सय रुपैया संकलन गर्ने निर्णय गरेको हो । उक्त रकम पार्टी सदस्यहरुले अनलाइनमार्फत पार्टीको खातामा जम्मा गर्नुपर्ने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।

हाल पार्टीमा ७ लाख ३० हजार संगठित सदस्य रहेको र महाधिवेशनको खर्चका लागि खोलिएको खातामा सात करोड भन्दा बढी जम्मा हुने उहाँले बताउनुभयो । बैठकमा महाधिवेशन उपसमितिहरुले पेश गरेको कार्ययोजनासहितको प्रतिवेदन पारित गरेको भट्टराईले जानकारी दिनुभयो । ती सदस्यबाट एक सयका दरले उठाउँदा ७ करोड २० लाख रकम जम्मा हुने उहाँको भनाइ छ ।

चितवनको नारायणी किनारमा अध्यक्ष केपी ओलीले मंसिर १० गते १२ बजे उद्घाटन गर्ने एमाले महाधिवेशनको उद्घाटन सत्रमा चितवन र आसपासका जिल्लाबाट व्यापक जनपरिचालन गर्ने एमालेले जनाएको छ । महाधिवेशन उद्घाटन सत्रमा कम्तिमा ५ लाखको जनसहभागिता जुटाउने एमालेले जनाएको छ ।

त्यस्तै, एमालेले महाधिवेशनको प्रचार प्रसार भित्तेलेखन र पोष्टर पम्प्लेटबाट नगरी डिजिटल माध्यमबाट गर्ने र त्यसका लागि सोसल मिडिया र सामाजिक सञ्जाल प्रयोग गर्ने भएको छ ।