राजनीति

भारतीय राष्ट्रपतिद्वारा प्रधानसेनापति शर्मालाई मानार्थ महारथीको सम्मान


काठमाडौँ – प्रधानसेनापति प्रभुराम शर्माले भारतीय राष्ट्रपति रामनाथ कोविन्दबाट मानार्थ भारतीय महारथीको सम्मान पाउनुभएको छ । नयाँ दिल्लीस्थित आज बुधबार राष्ट्रपति भवनमा भव्य समारोहका बीच राष्ट्रपति कोविन्दले शर्मालाई मानार्थ महारथीको सम्मान दिनुभएको हो ।

समारोहमा भारतीय रक्षा मन्त्री राजनाथ सिंह, भारतीय सेना अध्यक्ष एमएम नरवणे लगायत उच्च पदस्थ व्यक्तिको सहभागिता थियो । प्रधानसेनापति शर्मा हिजो भारतको राजधानी नयाँ दिल्ली पुग्नुभएको थियो ।

भारतीय सेनापति नरवणेले गएको वर्ष नै नेपाल आएर यहाँको मानार्थ महारथीको सम्मान लिइसक्नुभएको छ । नेपाल र भारतबीच एक–अर्का देशका प्रधानसेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा छ ।

नेपालका प्रधानसेनापति सुरेन्द्रबहादुर शाहलाई विक्रम संवत् २०२६ मा पहिलो पटक भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट विभूषित गरेको अभिलेख रहेको छ ।