राजनीति

कात्तिक ३० मा मुख्यमन्त्री राईले विश्वासको मत लिने


काठमाडौँ – प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले यही कात्तिक ३० गते बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् । प्रदेशसभा सचिवालयले सूचना प्रकाशित गरी कात्तिक ३० गतेका लागि बैठक बस्ने जनाएको हो ।

यसअघि कात्तिक २३ गते प्रदेशसभाको बैठक बोलाइएको थियो । तर मुख्यमन्त्री राईले विश्वासको मत लिएरमात्र मन्त्रीमण्डल विस्तार गर्ने बताएपछि प्रदेशसभा सचिवालयले सूचना प्रकाशित गरी विशेष कारणले कात्तिक ३० गतेसम्मका लागि बैठक स्थगित गरेको जानकारी दिएको थियो । कात्तिक १५ गते बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै तत्कालीन मुख्यमन्त्री भीमप्रसाद आचार्यले पदबाट राजीनामा गर्ने घोषणा गरेपछि सभामुखले प्रदेशसभाको अर्को बैठक कात्तिक २३ गतेका लागि डाकेका थिए ।

मुख्यमन्त्री राईले विश्वासको मत लिनुभन्दा दुई दिन अघि नै प्रदेशसभा सचिवालयलाई जानकारी दिनुपर्ने भएकोले विश्वासको मत लिने विषयमा आन्तरिक तयारीका लागि उनी गृह जिल्ला भोजपुरबाट मंगलबार विराटनगर पुगेका छन् ।