समाचार

छठको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अघ्र्य दिइँदै



काठमाडौँ – प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदै छ ।

छठ पर्वका लागि राजधानीको गुह्येश्वरी, कमलपोखरी, वागमती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा सजावट गरिएको छ । कात्तिक शुक्ल षष्ठीको बेलुकी गुह्येश्वरी र कमलपोखरीमा राष्ट्रपति विद्या भण्डारीलेले समेत छठ पूजा गर्ने कार्यक्रम रहेको छ ।

छठपर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास रहिआएको छ । यसमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता रहेको छ । ऐतिहासिक पौराणिक ग्रन्थ अनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा सफलताको कामना गरी सूर्यदेवलाई आराधना गरिएको थियो ।

उक्त समयमा पाण्डवहरु विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । छठ पर्वका अवसरमा सरकार आज सार्वजनिक बिदा दिएको छ ।