राजनीति

सत्तागठबन्धनको चुनावी तालमेल होला ? एमाले भन्छ डटेर सामना गर्छौ र जित्छौ (भिडियोसहित)


काठमाडौँ – सत्ता गठबन्धनले सरकार सञ्चालनमा सहयोग गर्न भन्दै उच्चस्तरीय समन्वय समिति गठन गरेको छ । उच्चस्तरीय समन्वय समिति आसन्न निर्वाचनमा एमालेविरुद्ध गठबन्धनको चुनावी रणनीति भएको कतिपयको आँकलन छ । अर्कोतर्फ उच्चस्तरीय समन्वय समिति असंवैधानिक तथा अलोकतान्त्रिक भएको भन्दै सरकारको आलोचना सुरु भएको छ ।

पछिल्लो केहि समय यता पार्टीको संगठन विस्तार, पार्टी पुर्नसंरचना अनि सार्वजनिक मञ्चहरुमा एक अर्कालाई खुल्याउन सक्रिय दलका शीर्ष नेताहरुका लागि राजनीतिक वृत्तमा अर्को बहस सृजना भएको छ । सोमबार बसेको गठबन्धन दलहरुको बैठकले नागरिकको अपेक्षा पुरा गर्न सरकार सञ्चालनमा सहयोग गर्न भन्दै उच्चस्तरीय समन्वय समिति गठन गरेपछि प्रधानमन्त्रीको सार्वभौम अधिकार माथि हस्तक्षेप भएको भन्दै आलोचना सुरु भएको छ । अर्कोतर्फ एमाले विरुद्ध सत्ता घटक दलहरु अझ सक्रिय भएको विश्लेषण भैरहेको छ । आगामी निर्वाचनमा जसरी पनि ठुलो शतिm बन्ने होडमा रहेको एमालेका लागि सत्ता गठबन्धनको चुनावी तालमेलले खासै अर्थ नराख्ने सो पार्टी जनाएको छ ।

सत्ता गठबन्धनले साझेदारी आगामी निर्वाचनसम्म अगाडि बढ्ने दावी गरिरहेका बेला प्रतिपक्ष एमाले भने गठबन्धनको सरकार चुनावसम्म नटिक्ने ठोकुवा गर्दै आएको छ । गठबन्धनको सरकार राजनीतिक सिद्धान्तबाट भन्दा पनि एमाले अध्यक्ष केपी शर्मा ओलीप्रतिको प्रतिशोध र विरोधले एकठाउँमा ल्याएको हुँदा चुनावसम्म जाने सम्भावना नभएको एमाले नेताहरुको तर्क छ । चुनावमा गठबन्धन गरेर अगाडि बढे पनि एमाले त्यसको सामना गर्न तयार रहेको नेताहरुको दावी छ ।

सत्ता गठबन्धनले गठन गरेको उच्चस्तरीय समन्वय समिति असंवैधानिक तथा अलोकतान्त्रिक भएको कतिपयको विश्लेषण छ । मुलुक र नागरिकको हितका लागि भन्दा पनि दलगत भागवण्डा र नेताहरुको व्यतिmगत स्वार्थका लागि भएको विश्लेषण हुन थालेको छ ।

उच्चस्तरीय समन्वय समितिका विषयमा पाँच दलीय गठबन्धनले भने सरकारको कुनैपनि काममा हस्तक्षेप नगर्ने स्पष्ट पारेको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पाँच दलीय गठबन्धन समन्वय समितिका संयोजक रामचन्द्र पौडेलले समन्वय समितिले सरकारको काममा कुनै प्रकारको हस्तक्षेप नगर्ने बताए ।

गठबन्धन समन्वय समितिले सरकारको काममा हस्तक्षेप नगर्ने भनिए पनि समन्वय समितिले आगामी निर्वाचनसम्म सरकारलाई सहयोग गर्ने स्पष्ट पारेको छ । एमाले विरुद्ध एक बनेर चुनावी सहकार्य गर्ने सत्ता गठबन्धनको यो रणनीतिको चर्को आलोचना भैरहेको छ ।