राजनीति

‘म विना पार्टी हुँदैन भन्ने चिन्तन गलत छ’


काठमाडौँ — नेकपा एमालेका सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले पार्टी उपाध्यक्ष भीम रावललाई आफ्ना मतहरु सामाजिक सञ्जालमा नभई पार्टी कमिटीहरुमा राख्न आग्रह गरेका छन् ।

रावलले सामाजिक सञ्जाल ट्वीटरमार्फत सुदूरपश्चिम प्रदेश कमिटीको बैठकप्रति आपत्ति जनाएपछि प्रदेश इन्चार्ज भट्टले आफ्ना मतहरु बैठकमा राख्न आग्रह गरेका हुन् । सुदूरपश्चिम प्रदेश कमिटीको बैठकमा इन्चार्ज भट्टले रावललाई आफू विना पार्टी चल्दैन भन्ने चिन्तन नराख्न आग्रह गरे ।

‘संगठनात्मक कमिटी प्रणालीबाट हामीले हरेक समस्या, भिन्न मतहरुलाई छलफल र समाधान गर्दै आएका छौं,’ उनले भने, ‘कसैलाई चित्त बुझेन भने मैले भनेको हुनुपर्छ नत्र म आउँदिन भन्ने, राजीनामा दिन्छु भन्ने अभिव्यक्तिहरु आउँछन । म विना पार्टी हुँदैन भन्ने चिन्तन गलत छ ।’ व्यक्ति नभए पनि पार्टी चल्ने उनले बताए ।

एमाले सुदूरपश्चिमका अध्यक्ष कर्ण थापाले पनि असन्तुष्टिलाई जनता र कार्यकर्तामाझ लैजाँदा पार्टीलाई फाइदा नहुने बताए ।