समाचार

जाडोको सिजन शुरु भएसँगै भाइरल रुघाखोकीको समस्या बढ्यो



काठमाडौँ –जाडोको सिजन शुरु भएसँगै भाइरल रुघाखोकीको समस्या बढ्न सक्ने भन्दै चिकित्सकहरुले सचेत गराएका छन् । काठमाडौँसहित देशभर चिसोको मौसम शुरु भएसँगै चिकित्सकहरुले भाइरल रुघाखोकीको समस्या बढ्न सक्ने भन्दै त्यसतर्फ सचेत रहन आम नागरिकहरुलाई आग्रह गरेका हुन् ।

मंगलवार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा नर्भिक अन्तर्राष्ट्रिय अस्पतालका कन्सलट्यान्ट फिजिशियन डा. आलोक ढुंगेलले चिसो मौसम बढेकोले बालबच्चा, वृद्धवृद्धा, सुत्केरी र दीर्घरोगीहरुले स्वास्थ्य सतर्कता अपनाउन आग्रह गर्नुभयो । उहाँले अहिलेको मौसम कोरोनासँगै फ्लूको संक्रमण बढी हुने भएकोले यसले श्वासप्रश्वासमा समस्या आउने बताउनुभयो । कन्सलट्यान्ट फिजिशियन डा. ढुंगेलले चिसोबाट जोगिने, तातो र न्यानो कपडा लगाउने, बाहिर नहिँड्ने, धुवाँ र धुलोबाट बच्ने, मर्निङ वाकमा ननिस्कन आग्रह गर्नुभयो ।

त्यस्तै उहाँले यस्ता फ्लूहरुबाट बच्न रुघाखोकी लागेका मानिसहरुबाट टाढै रहन, मास्कको प्रयोग गर्न, जथाभावि नाक,कान,मुख नचलाउन पनि आग्रह गर्नुभयो । उहाँले यस्ता भाइरसबाट बच्नको लागि भाmेलिलो खानेकुरा खान र भ्याक्सिन अनिवार्य लगाउनु पर्ने पनि बताउनुभयो । कन्सलट्यान्ट फिजिशियन डा. ढुंगेलले सबै नागरिकहरुले मौसमी रुघाखोकीबाट जोगिने उपायलाई आफ्नो पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

उहाँले कोभिड–१९ का बेला गरिरहेका आचरणहरुलाई प्रयोगमा ल्याइराख्नाले पनि मौसमी भाइरल रुघाखोकीबाट बच्न सकिने बताउनुभयो । उहाँले २०२२ को लागि नयाँ इन्फ्लूएन्जाको भ्याक्सिन आउन लागेको बताउँदै कोभिडबिरुद्धको भ्याक्सिनको दुई डोज लगाउनेहरुले इन्फ्लूएन्जाको भ्याक्सिन डाक्टरको सल्लाह बमोजिम लगाउन मिल्ने पनि बताउनुभयो ।