खेलकुद

नेपाल टी–२० विश्वकपको ग्लोबल छनोटमा


काठमाडौँ – नेपाल आइसिसी पुरुष टी–२० विश्वकप २०२२ को ग्लोबल छनोटमा सीधै छनोट भएको छ ।

अब नेपालले क्षेत्रीय छनोट प्रतियोगिता खेल्नु नपर्ने भएको छ । आइसिसी टी–२० वरीयताका आधारमा नेपालले सीधै ग्लोबल छनोट खेल्न अवसर पाएको हो । अहिले नेपाल आइसिसी टी–२० को १३औँ स्थानमा रहेको छ । नेपालले जिम्बाबे, युएई, हङकङ तथा पपुवा न्युगिनी राष्ट्रविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

सन् २०२२ को फेब्रुअरी तथा मे महिनामा ग्लोबल छनोट हुनेछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले सीधै छनोटमा परे पनि धेरै अभ्यासको आवश्यकता रहेको बताएका छन् । ग्लोबल छनोटमा १६ टोलीले भाग लिने आइसिसीले जनाएको छ ।

आइसिसीले सहभागी टोलीलाई दुई समूहमा विभजित गरेको छ । प्रत्येक समूहमा आठ टोली हुनेछन् । दुई समूहका शीर्ष दुई स्थानमा रहने टोलीले विश्वकपमा स्थान पक्का गर्नेछन् ।