समाचार

देशैभर छठको रौनक : यस्तो छ मनाउने तरिका


काठमाण्डौँ – सूर्य र पानीको पूजा आराधना गरी मनाइने छठ पर्व सोमबारबाट सुरु भएको छ । कात्तिक २४ गते बुधबार यस पर्वको मुख्य दिन परेको छ । त्यसका लागि तराई मधेश जिल्लामा छठ पर्व मनाउनको लागि तयारी भइरहेको छ । खोला, ताल, पोखरीका किनारमा आकर्षक रूपमा छठ घाट निर्माण सुरु भएको छ । छठ मनाउनका लागि सरसफाइ, घर लिपपोतलगायतका काम पनि भइरहेको छ ।

मानव जीवनका लागि अत्यावश्यक नदी र सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ स्नान गरेसँगै सुुरु भएको हो । गत वर्ष कोरोनाका कारण छठ पूजा स्थगित गरिएको थियो । यस वर्ष भने कोरोना संक्रमणदर घट्दै गएकाले सतर्कताका साथ पर्व मनाउने छुट दिइएको छ । त्यसैले तराई मधेशमा छठको मुख्य दिन २४ गतेका लागि आवश्यक तयारी धमाधम भइरहेको छ ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व पहिलो दिन स्नान गरी चोखो खाएर बसिन्छ । चतुर्थीको कर्मलाई अरबाइन वा अरबा भनिन्छ । यस दिनदेखि छठ पर्व नसकिएसम्म व्रतालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो, आदि नखाने विधि छ । केही व्रतालुले भने कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि नै तामसी खाद्य परिकार नखाई शुद्ध खानपीन गर्छन् । मनोकाङ्क्षा पूरा हुने विश्वासमा विशेषगरी महिलाले छठमा कठोर व्रत गर्छन् ।

कार्तिक शुक्ल चतुर्थीका दिन छठ स्थलमा सरसफाइ एवं स्नान गरेका व्रतालु पञ्चमीका दिनमा निर्जल उपवास बस्छन् । यस दिन बेलुकी घरमा खीर बनाई चन्द्रमालाई अर्पण गरी एक छाक खाने गरिन्छ । यसलाई खरना भन्ने गरिएको छ । षष्ठीका दिन साँझपख बत्ती बालेर माटाको घडाको साथ गीत गाउँदै नदी वा तलाउका किनारमा गइन्छ । डुब्न लागेका सूर्यलाई अघ्र्य दिइ प्रणाम गरिन्छ ।

सप्तमीका दिन उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अघ्र्य दिइन्छ । पृथ्वीमा भएका जीवको सञ्चालन र संरक्षण जल एवं सूर्यबाट भएकाले नदीलाई माता, सूर्यलाई सम्पूर्ण शक्तिको स्रोतका रुपमा मानी विशेष पूजा गर्ने गरिएको हो ।

कार्तिक शुक्ल पञ्चमीका दिन बर्तालुले सक्खर र घिउलगायत शुद्ध खाद्य पदार्थबाट बनेको खरना खान्छन् । यसलाई पनि छठको एउटा विधिका रूपमा लिइन्छ ।

दुई दशक अघिसम्म तराई क्षेत्रमा मात्र विशेष रूपमा मनाइने छठ पर्व पछिल्लो समय काठमाडौँलगायत पहाडी जिल्लामा समेत धुमधामका साथ मनाउन थालिएको छ ।