राजनीति

आजदेखि नेपाल बारले देशैभर आन्दोलन गर्ने, गठबन्धनलाई ज्ञापनपत्र



काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत नेपाल बार एशोसिएसनले आजदेखि विरोधका थप कार्यक्रम सुरु गर्ने भएको छ । सोमबार बसेको बारको कार्यसमिति बैठकले सर्वोच्च अदालत केन्द्रित आन्दोलनलाई विस्तार गर्ने निर्णय गरेको हो ।

अब २३ देखि ३० गतेसम्म उपत्यकाका जिल्ला तथा उच्च अदालत र न्यायाधिकरण बारमा पनि कालोपट्टी बाँधेर विरोध गर्ने निर्णय गरेको छ । बारले विहान १० देखि १२ बजेसम्म इजलास नराख्न अदालतहरुलाई अनुरोध गरेको छ ।

उपत्यका बाहिर २८, २९ र ३० गते ९० वटै बार इकाइमा विरोध कार्यक्रम हुनेछ । पौडेलका अनुसार आन्दोलनबारे भ्रम फैलाउन खोजेको भन्दै स्वेतपत्र जारी गर्ने निर्णय पनि बारले गरेको छ ।

बैठकले अहिलेको अवस्थाबारे गम्भीर भएर उपयुक्त कदम चाल्न आग्रह गर्दै प्रधानमन्त्री र संसदहरु रहेका दलहरुलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ । साथै प्रधानन्यायाधीश जबराले बोलाएको न्याय परिषद् र न्याय सेवा आयोगको बैठकमा सहभागी नहुन सदस्यहरुलाई आह्वान समेत गरेको छ ।

बैठकले अदालत परिसरमा दंगा प्रहरी हटाउन अदालत प्रशासनसँग माग समेत गरेको छ ।

यसअघि सोमबार पनि नेपाल बार एशोसिएसनले बिरोध प्रदर्शन गरेको थियो । बारले राजीनामा दिन प्रधानन्यायाधीश राणालाई ५ दिनको अल्टिमेटम दिएको थियो । राजीनामा नआएपछि बारले आन्दोलनलाई अझ कडा पार्न लागेको हो । तीन वर्ष न्यायपालिकाको नेतृत्व गर्दा पनि जबराले सार्वजनिक रुपमा व्यक्त प्रतिवद्धता कार्यान्वयन नगरेको आरोप बारले लगाएको छ ।