मौसम

चिसोबाट कसरी बच्ने ? यस्तो छ विज्ञको सुझाव (भिडियोसहित)


काठमाडौँ — मौसम परिवर्तन हुने समयमा मानवशरीरमा ज्वरो र रुघाखोकीजस्ता समस्या हुनु सामान्य मानिन्छ । यसवर्ष चिसो बढ्दै गर्दा मानिसहरूलाई यस्ता समस्या देखिएको छ । चिसो मौसममा युवाभन्दा बुढाबुढी र केटाकेटीलाई रोगले छिटो आक्रमण गर्छ । त्यसैले सकेसम्म चिसोबाट बच्नुपर्ने चिकित्सक बताउछन् ।

मौसम बदली भएसंगै देशभर चिसो बढ्न थालेको छ । बिशेषत गर्मि समयमा भन्दा जाडो मौसममा बालबालीका र बृद्धबृद्धालाई चिसोका कारण स्वास्थ्यमा विभिन्न समस्याहरू देखा पर्ने गर्छन् । यो समयमा चिसोबाट जोगिन सकियो भने धेरै रोगहरूबाट बच्न सकिन्छ । गर्मी र जाडो छुट्टिने बेला प्रायः मानिसलाई रुघाखोकीको समस्या हुने गरेको छ । जाडोयाममा शरीरमा भाइरस बढी सक्रिय हुने भएकाले रुघाखोकी बढी लाग्छ । विगतमा जस्तै चिसो बढ्दै जाँदा रुघाखोकीका बिरामी बढ्न थालेको चिकित्सकहरू बताउँछन् ।

यसबेला भाइरल ज्वरो, रुघाखोकी, छातीको समस्या, दम, आज्मा, झाडापखाला, जण्डिस, टाउको दुख्ने लगायतका समस्या देखिने गरेको छ । विशेषगरी रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरुमा यस्ता समस्या बढी देखिने गर्छ । जाडोको समयमा नाक, कान र घाँटीको एलर्जी पनि हुन्छ । श्वासप्रश्वास तथा छातीमा समस्या देखिनुका साथै आँखामा आँसु आउने, स्वर बस्ने तथा रुघाखोकी लाग्नेजस्ता रोगले सजिलै आक्रमण गर्न सक्छ ।

यता मौसमविद्ले गत १० दिनको तापक्रम हेर्दा काठमाडौँ उपत्यकासहित देशभर चिसो बढ्दै गएको जनाएको छ । यो अवधीमा काठमाडौँको तापक्रम १७ डिग्रिबाट ८ डिग्रि सेल्सियससम्म झरेकोले चिसोबाट बच्न शतर्क रहनुपर्ने उनीहरु बताउछन् । जाडो याममा बढी नै प्रदूषण हुने भएकोले घरबाट ननिस्किन, मर्निङ वाकमा नजान र बालबालिका, वृद्धवृद्धालाई चिसोबाट बचाउने उपायहरु अपनाउनु पर्ने उनीहरुले सुझाव छ ।

रुघाखोकीमा झोलिलो खानेकुराको सेवन नै महत्वपूर्ण मानिन्छ । प्रशस्त मात्रामा तरल पदार्थ पिउने, तातोपानी पिउने, पोषणयुक्त खानेकुरा खाने, भिटामिन ‘सी’ युक्त फलफूल, खाने, उचित आराम गर्ने, बिरामीलाई न्यानो पारी राख्नाले रुघाखोकी सामान्य अवस्थामै निको हुन सक्छ ।