काठमाडौँ – आइसिसी टि–२० विश्वकप २०२१ को सुपर १२ को अन्तिम खेलमा आज भारत र नामिबियाबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ :४५ मा दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा सुरु हुनेछ । सुपर १२ को समूह २ को यस खेलसँगै समूह चरणका सम्पूर्ण खेलहरु सकिनेछन् ।
समूह चरणबाटै बाहिरिएको भारत कमजोर नामिबियामाथि जितका साथ सुखद अन्त्य गर्ने सोचमा छ । विश्वकप २०२१ को सेमिफाइनलमा पुग्ने चारै टोलीको टुङ्गो लागि सकेको छ । सुपर १२ समूह १ बाट इंग्ल्यान्ड विजेता र अष्ट्रेलिया उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेका छन् । भारत रहेको सुपर १२ को समूह २ बाट पाकिस्तान विजेता र न्युजिल्यान्ड उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनाए । भारत ४ खेलमा २ मा जित र २ मा हार सहित ४ अंकका साथ तेस्रो स्थानमा छ ।
नामिबिया ४ खेलमा ३ मा हार र १ मा जित सहित पाँचौं स्थानमा छ । यसैविच, भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले टि२० कप्तानको रुपमा आज अन्तिम खेल खेल्दैछन् । यस खेलसँगै विराटको टि२० खेलमा कप्तानी यात्रा सकिनेछ । कोहलीले टि२० विश्वकपपछि कप्तानी छाड्ने यसअघि घोषणा गरेका थिए ।
प्रतिक्रिया