राजनीति

पाँच दलीय सत्ता गठबन्धनको बैठक बस्दै


काठमाडौँ — सत्तासाझेदार पाँच दलको बैठक बस्ने भएको छ । बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा आज साँझ ५ बजे बस्न लागेको हो । नेकपा माओवादी केन्द्रका एक नेताका अनुसार बैठकमा सरकारलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल हुनेछ ।

पाँच दलीय गठबन्धनमा रहेका चार दल सरकारमा छन् । गठबन्धनमा रहेका काँग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी सरकारमा रहेपनि राष्ट्रिय जनमोर्चा सरकार बाहिरै बसेर सहयोग गरिरहेको छ ।

स्रोतका अनुसार सरकार सञ्चालनमा सहयोग गर्न पाँच वटै दलका नेताहरु सम्मिलित संयन्त्र बनाउने विषयमा छलफल हुन सक्नेछ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई प्रभावकारी बनाउन संयन्त्र गठन गर्नुपर्ने बताउदै आएका छन् ।

यसमा समाजवादीका अध्यक्ष माधव नेपाल पनि सहमत छन् । सोमबार बिहान सोही विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र अध्यक्ष नेपालबीच छलफल समेत भएको बुझिएको छ ।