अर्थनीति

सुनचाँदीको व्यापार उत्साहजनक


काठमाडौँ – नेपाल सुनचाँदी व्यवसायी महासंघले यस वर्ष सुनचाँदीको व्यापार उत्साहजनक रहेको बताएको छ । महासंघका अध्यक्ष माणिकरत्न शाक्यले गत वर्षको तुलनामा यस वर्ष सुनचाँदीको व्यापार उत्साहजनक रहेको बताउनु भएको हो ।

शाक्यले विगतका दुई वर्षमा कोरोना भाइरसका कारण व्यापार हुन नसकेको भए पनि यस वर्षको चाडवाडमा अपेक्षा अनुसारकै व्यापार भएको बताउनुभयो । अध्यक्ष शाक्यले चाडवाड पछिका केही दिन बजार सुस्त भएपनि सरकारले प्रतिदिन तोकेको २० किलो सुनको आयात भइरहने हुनाले चाडवाडमा बिक्री भएर सकिएको ठाउँको परिपूर्ति हुने बताउनुभयो ।

अध्यक्ष शाक्यले मंसिर महिनाबाट विवाहको लगन हुने भएकोले त्यो बेलामा पनि राम्रो व्यापार हुने कुरामा आशावादी रहेको बताउनुभयो । उहाँले सरकारले सुनचाँदी वितरणको नियमलाई वैज्ञानिक र पारदर्शी बनाउन आवश्यक रहेको बताउनुभयो ।