राजनीति

बागमतीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै, मन्त्रिपरिषद् विस्तार र साझा कार्यक्रम सार्वजनिक गर्ने


काठमाडौँ – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज प्रदेश सभाबाट विश्वासको मत लिन हुने भएको छ । मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो ३ बजे प्रदेश सभाको बैठक बोलाइएको छ ।
दुई वा दुईभन्दा बढी दलको समर्थनमा नियुक्त मुख्यमन्त्रीले नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । सोही प्रावधान अनुसार मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिन लाग्नुभएको प्रदेश सभा सदस्य लक्ष्मण लम्सालले जानकारी दिनुभयो । एमाले विभाजित भएसँगै बहुमतको सरकार ढलेको थियो । लगत्तै गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका पाण्डे मुख्यमन्त्री बन्नुभएको थियो ।

बागमतीमा हाल मुख्यमन्त्रीसहित चार सदस्यीय मन्त्रिमण्डल रहेको छ । विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तारसहित गठबन्धनका दलहरु सहभागी सरकारको आगामी साझा कार्यक्रमहरु सार्वजनिक गर्ने पाण्डेले बताउनुभएको छ । हाल १०९ सदस्य कायम रहेको प्रदेश सभामा बहुमतका लागि ५५ मत आवश्यक हुन्छ । गठबन्धनबाट मुख्यमन्त्री बन्नुभएका पाण्डेको पक्षमा ५९ सांसदले हस्ताक्षर गर्नुभएको थियो ।