खेलकुद

लिभरपुललाई ठूलो धक्का, वेस्ट ह्यामसँग स्तब्ध


काठमाडौँ – इंलिस प्रिमियर लिग (ईपीएल) मा उपाधि दाबेदार लिभरपुल पराजित भएको छ । आईतबार राति भएको खेलमा वेस्ट ह्यामसँग लिभरपुल ३–२ गोलले स्तब्ध बनेको हो ।

गोलकिपर एलिसनको आत्मघाती गोलसँगै पछि परेको लिभरपुल खेलमा फर्कन कोसिस गरे पनि त्यो सम्भव हुन नसक्दा हार व्योहोर्न बाध्य बन्यो । सुरुवाति समयमा नै पछि परे पनि पहिलो हाफको अन्त्यतिर ट्रेन्ट अलेक्जान्डर अर्नोल्डले गोल गर्दै खेल बराबरीमा ल्यायो । दोस्रो हाफमा बेस्ट ह्यामले लगातार दुई गोल गर्दा गोल अन्तर बढाएको थियो । ६७ मिनेटमा फोर्नाल्स र त्यसको सात मिनेटपछि कर्ट जोउमाले गोल गरेपछि वेस्ट हामले जित सुनिश्चित गर्याे । ८३ औँ मिनेटमा डिभोक ओरिगीले गोल गर्दै लिभरपुललाई खेलमा फर्काउने प्रयास गरे ।

पराजयपछि लिभरपुललाई ठूलो धक्का लागेको छ । ११ खेल खेलेको लिभरपुल २२ अंकका साथ तालिकाको चौथो स्थानमा झरेको छ । वेस्ट ह्याम भने लिभरपुललाई उछिन्दै लिगको तेस्रो स्थानमा रहेको छ । वेस्ट ह्याम र दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको समान २३ अङ्क रहेको छ । लिभरपुल लगातार २६ खेलमा अपराजित रहेर नयाँ क्लब कीर्तिमान बनाउन पनि असफल रह्यो ।

आइतबार नै भएको अर्को खेलमा आर्सनलले वाटफोर्डमाथि संघर्षपूर्ण जीत निकालेको छ । आर्सनलको जीतमा एमिल स्मिथ रोवीको एक मात्र गोल निर्णायक बनेको थियो । जीतसँगै आर्सनल २० अङ्क बटुल्दै लिगको पाचौँ स्थानमा उक्लिएको छ । उता, टोटनह्यामले एभर्टनसँग गोलरहित बराबरी खेल्यो भने लिड्स र लेस्टर सिटीले पनि बराबरी खेल्न बाध्य बने ।