काठमाडौँ — दशैंपछिको दोस्रो ठूलो चाड तिहार सक्किए लगत्तै सुख समृद्घिको पर्व मानिने तराईबासीको महान् पर्व छठको तयारी र चहल पहल सुरु भइसकेको छ । यहाँका हाट बजारमा पर्व मनाउन आवश्यक पर्ने पूजाका सामग्रीहरु बिक्रीका लागि सजिसकेका छन् ।
तराई मधेशका गाउँगाउँ र शहर बजारमा लोकआस्थाको महान् पर्व छठको तयारी र चहलपहल बढेको छ । पछिल्लो समय मधेशी समुदायले मात्र नभइ पहाडी समुदायले पनि आस्थाको महान्पर्व छठ मनाउन थालेका छन् । प्रत्येक वर्ष छठ मनाउनेहरुको संख्यामा बृद्घि भईरहेको छ । छठपर्वको लागि किनमेल गर्नेहरुको संख्या बढेको भएपनि ब्यापार भने नचलेको ब्यापारीहरुले गुनासो गरेका छन् । लामो समयदेखि बन्द रहेको नेपाल भारत सिमानाका गत महिनाबाट पुर्णरुपमा खुलिसकेकोले नेपाली ग्राहकहरु सस्तोमा सामान पाइने लोभमा पारिपट्टीको बजारहरुमा किनमेलका लागि जान थालेपछि छठ जस्तो महापर्वमा पनि सिमाक्षेत्रका नेपाली बजाररु सुनसान बनेको यहाँ स्थानीय ब्यापारीहरुले बताएका छन् ।
ब्रतालुहरु छठका लागी बाँसको नाङ्गलो, ढकिया, कोनिया, माटोबाट बनाइएको हात्ती, दियो, ढकना, कोशिया, कुरवार, केरा लगायत फलफुल, उखु, भोगटे, कागती, सख्खर लगायतका पुजा सामग्रीहरु खरिद गर्न भारतिय बजारमै जाने गरेका छन् ।
यससँगै सिमानाका बन्द रहेको बेला झण्डै डेढ वर्षदेखि सुस्ताएको भारतिय बजारको ब्यापारले गति लिएको छ । नेपाली ग्राहकहरु छठमा मात्र नभइ दशै र तिहारको लागि समेत किनमेल गर्न पारीपट्टीकै बजारमा पुगेका थिए । भारतिय बजारको भाउ र नेपाली बजारको भाउमा एकदुई रुपैयाको मात्र अन्तर छ । उता १ सय नेपाली रुपैया ५५ देखि ६० रुपैया भारुमा चल्छ । अधिकांश सामानहरु नेपालमै सस्तोमा पाइन्छ तर यहाँका मानिसहरुमा भारतमै सामानहरु सस्तोमा पाइन्छ भन्ने मानसिकता बसिसकेकोले गर्दा पनि नेपाली ग्राहकहरु भारतिय बजारतर्फ आकर्षित हुने गरेको मलंगवा निवासी एक सरकारी कर्मचारी शम्भु यादव बताउँछन् ।
सिमानाका खुलेर अन्य विभिन्न कार्यहरु सहज भएपनि नेपाली बजारको ब्यापार भने बिस्तारै धारासायी बन्दै गइरहेको यहाँ ब्यापारीहरुले गुनासो गरेका छन् ।
छठ मनाउनेहरु विभिन्न पोखरी, तलाउ र जलाशयहरुको सरसफाई र सजावटमा पनि व्यस्त भएका छन् । जलाशयहरुको सरसफाईमा सम्बन्धित पालिका, वडा कार्यालय ,सुरक्षाकर्मी तथा विभिन्न स्थानीय सामाजिक संघसंस्थाहरुले समेत सघाइ रहेका छन् । घाट सजावटका लागि स्थानीयबासीहरुको एकआपसमा होडबाजी नै लाग्ने गरेको छ । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्ध दिएर ४ दिन सम्म मनाईने यो पर्व सोमबारदेखि विधिवत रुपमा सुरु हुँदै छ । छठको पहिलो दिन नहाय खाय, दोस्रो दिन खरना, तेस्रो दिन संध्याकालीन अस्ताउँदो सुर्य र चौथो दिन प्रातःकालिन उदाउँदो सुर्यलाई अर्घ्य दिएर छठ पुजा सम्पन्न हुन्छ ।
प्रतिक्रिया