राजनीति

आसन्न महाधिवेशनमा कांग्रेसको गुटगत भीडन्त : शीर्ष नेतृत्वलाई चिन्ता (भिडियोसहित)


काठमाडौँ — पटक पटक महाधिवेशन मिति सार्दै आएको नेपाली कांग्रेसले पार्टीको आगामी महाधिवेशन मंंसिर २७ देखि पौष १ गतेका लागि प्रस्ताव गरेको छ । आन्तरिक गुटगत मतभेदका कारण अझै पनि तोकिएकै समयमा महाधिवेशन हुनेमा आशंका कायमै छ । आसन्न महाधिवेशन पूर्व नेता कार्यकर्ताबीच बढ्दो मतभेतले शीर्ष नेतृत्वमा भने संशय पैदा गराएको छ ।

नेपाली काँग्रेसको चौथो पटक मिति तोकिएको मंंसिर ९ गतेदेखि १३ गतेसम्म केन्द्रिय महाधिवशेन सम्पन्न गर्न असम्भव भएपछि पुन पाँचौ पटक महाधिवेशन मिति सारिएको छ । पार्टी विधानअनुसार महाधिवेशन मिति एक वर्ष थप्न मिल्ने भएपनि विशेष अवस्थामा संविधानत थप ६ महिना कार्यकाल लम्ब्याउन सकिने व्यवस्था छ । कांग्रेसले यो प्रावधानको प्रयोग गरिसकेको छ । नयाँ प्रस्तावित मिति अनुसार भदौ १८ मा हुन नसकेको १३ जिल्लाको वडा नगर तहको अधिवेशन कार्तिक २७ मा गर्ने र क्रमश मंसिर २७ देखि पौष १ गतेका लागि केन्द्रीय महाधिवेशन मिति तय गरेको छ ।

तल्लो तहदेखि शीर्ष नेतृत्व समेत पार्टी महाधिवेशन तोकिएको समयभित्र सम्पन्न गर्न आतुर देखिए पनि पार्टीभित्रको गुटगत किचलो बाधक बन्दै आएको छ । प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडल पक्षको गुटगत राजनीतिका कारण महाधिवेशन मात्र होइन पार्टी नै संकटमा पारेको आरोप कार्यकर्ताले लगाउन थालेका छन् । कांग्रेसको गुटगत विभाजन र मतभेदको असर स्थानीय तहको अधिवेशनमा पनि प्रत्यक्ष परेको छ ।

यता प्रधानमन्त्री समेत रहेका सभापति देउवाले स्वस्थ प्रतिस्पर्धामा सभापतिको चयन गर्न आग्रह गर्दै जित र हारका आधारमा दुश्मनी नराख्न अनुरोध गर्दै आएका छन् । महाधिवेसन सर्नुमा आफ्नो हात नरहेको प्रष्ट पार्दै देउवाले अब भने महाधिवेशन तोकिएकै मितिमा हुने दावी समेत गरेका छन् ।

पार्टीभित्रको प्रतिस्पर्धा स्वच्छ हुनुपर्नेमा कांग्रेस नेताहरुले जोड दिँदै आएका छन । प्रतिस्पर्धा मात्र महत्वपूर्ण नभई प्रतिस्पर्धा पछि प्राप्त एकता अझ महत्वपूर्ण हुने हुँदा यसतर्फ भ्यान दिन काँग्रेसका शीर्ष नेताहरुले आग्रह गर्दै आएका छन् ।

नेपाली कांग्रेसभित्र गुटगत टसलका कारण फुट नभए पनि एकजुट भने छैन । विशेषत सभापति देउवा र वरिष्ठ नेता पौडेलबीचको मतभेत पार्टी अधिवेशन सुरु भएसँगै थप चर्किएको छ । जसको प्रत्यक्ष असर पार्टी महाधिवेसनमा पर्दै आएको छ । केन्द्रमा मात्र नभई तल्लो तहमा एउटै पार्टीका नेताहरु गुट फरक हुँदा मनमुटाव मात्र होइन दुश्मनीमा समेत परिणत हुँदै गएको देखिन्छ । आसन्न महाधिवेशनले देउवा र पौडेलबीचको गुटगत टसल तल्लो तहका नेता कार्यकर्तासम्म सरेको पाइन्छ । जसले गर्दा पाँचौ पटक धकेलिएको कांग्रेस महाधिवेसन तोकिएको समयमा हुने संशय कायमै छ ।