समाचार

मिथिला क्षेत्रमा मनाइने छठ पर्वको तयारी तीव्र, पहाडमा पनि आकर्षण बढ्दो (भिडियोसहित)


काठमाडौँ — मिथिला क्षेत्रमा मनाइने छठ पर्वको तयारी अन्तिम चरणमा पुगेको छ । रामायणकालीन पोखरीहरु धनुष सागर, गंगा सागर, अंगराज सरोवरलगायतका पोखरीहरुमा भव्य रुपमा छठ मनाइने गरिन्छ । तराई क्षेत्रमा मनाईने यो पर्व पछिल्लो समय काठमाडौं उपत्याकालगायत पहाडी भुभागमा पनि मनाइदै आइएको छ ।

छठकै लागि राजधानीको गौरीघाटमा तयारी थालिएको छ । छठी माताको पूजाका लागि गौरीघाटमा ‘छठघाट’ निर्माणको काम धमाधम भइरहेको छ । तराईमा धुमधामसँग मनाइने सूर्य आराधनाको पर्व छठ एक दशक अघिदेखि काठमाडौंमा पनि भव्यरुपमा मनाउन थालिएको हो । अहिले पोखरी, नदी तथा सरोवरहरूको सरसफाई तथा सौन्दर्यकरणको काम भइरहेको छ ।

गत वर्ष कोरोनाका कारण यो पर्व मनाउन नसके पनि यो वर्ष भव्य रुपमा मनाउनको लागि विशेष तयारी गरिएको छठ पूजा समितिले जनाएको छ । अहिले तयारी लागि मात्र १७ देखि १८ लाख सम्म खर्च हुने अनुमान गरिएको छठ पूजा समितिका सचिव नबल किशोर यादव बताउछन् ।

सामान्यतया कार्तिक शुक्ल चौथीका दिन ‘नहाय–खाय’ विधिबाट पर्व सुुरु हुन्छ । बर्तालुले पर्व सुरु हुनु एक दिनपूर्व नै उसिनिएका धानको चामल, कोदो, माछा–मासु, मुसुरोसहितका धार्मिक अनुष्ठानका लागि अशुुद्ध मानिएका खाद्यवस्तु खान छाड्छन् । यसै लागि अहिले विशेष तयारी गरिएको छ ।

निष्ठापूर्वक ४ दिनसम्म मनाइने छठ पर्व ‘नहाय खाए’ विधिबाट शुरु गरिन्छ । छठ पर्व अत्यन्तै निष्ठापूर्वक मनाइने भएकोले यसलाई सबैभन्दा कठोर पर्वको रुपमा समेत लिने गरिएको छ । यस पर्वमा व्रतालुले पहिलो दिन ‘नहाय–खाए’ गर्छन् भने दोस्रो दिन खरना, तेस्रो दिन डुब्दै गरेको र चौंथो दिन उदाउँदै गरेको सूर्यलाई अघ्र्य दिने प्रचलन छ ।