समाचार

सल्यान दुर्घटना अपडेट : ज्यान गुमाउनेको संख्या १२ पुग्यो


काठमाडौँ — सल्यानको कपुरकोटमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । जिल्ला प्रहरी प्रमुख डीएसपी गोविन्द थापाका अनुसार ज्यान गुमाउनेमा १० जना पुरुष र २ जना महिला रहेका छन् ।

घटनास्थलमा ६ जनाको र अस्पतालमा ६ जनाको गरी १२ जनाको मृत्यु भएको हो । मृत्यु भएकाहरुको सनाखत भइ नसकेको उनले जानकारी दिए ।

सल्यानको खलंगाबाट दाङको तुलसीपुर जाँदै गरेको रा१ख २५५२ नम्बरको बस आज बिहान ११ बजेतिर कपुरकोट गाउँपालिका-५ स्थित खारखोलामा दुर्घटना भएको हो । सडकबाट करिब २ सय मिटर तल खोलामा बस खसेर भएको दुर्घटनामा घटनास्थलमै ६ जनाको ज्यान गएको हो।

कर्णाली प्रदेश प्रहरीका प्रवक्ता डीएसपी माधव श्रेष्ठका अनुसार दुर्घटनापछि सशस्त्र र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका छन्।