राजनीति

नेपाल बारको ९० वटा इकाई पदाधिकारीसँग छलफल सुरु


काठमाडौँ – नेपाल बार एसोसिएसनले आइतबार बिहान साढे १० बजेदेखि देशैभरका ९० वटा इकाई बारका पदाधिकारीसँग छलफल सुरु गरिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै २ सातादेखि आन्दोलनरत बार एसोसिएसनले आगामी रणनीति तयार गर्न इकाई बारसँग छलफल थालेको हो ।

नेपाल बारकी उपाध्यक्ष रक्षा बस्यालका अनुसार ९० इकाई मध्ये ६० वटा इकाई बारका पदाधिकारीहरु भर्चुअल मिटिङमा जोडिएका छन् । अहिले इकाई बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ लगायतका पदाधिकारीले आ–आफ्ना धारणा राखिरहेका छन् । उपाध्यक्ष बस्यालले आवश्यक पर्दा उच्च र जिल्ला अदालतमा समेत बहस बहिष्कार गर्नेसम्मका सुझाव बताइन् ।

गत बुधबारसम्म सर्वोच्च अदालत परिसरमै धर्ना दिएका बारका सदस्यहरु आन्दोलनलाई कसरी अगाडि लैजाने भन्दै देशैभरका इकाई बारसँग छलफल गर्न लागेका हुन् । न्यायालय सुधारको माग गर्दै आन्दोलनमा होमिएको नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीशको राजीनामाबाट मात्रै न्यायालयको सुधार सम्भव भएको यसअघि नै निष्कर्ष निकालेको थियो ।