राजनीति

जनताप्रति उत्तरदायी भएर काम गर्ने श्रममन्त्री श्रेष्ठको प्रतिबद्धता


काठमाडौँ – नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले जनताप्रति सधैँ उत्तरदायी भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मन्त्री श्रेष्ठले जनताले आफूप्रति गरेको भरोसा टुट्न नदिने बताएका हुन् ।

व्यास नगरपालिका–१ स्थित निर्मल जनसुधार आमा समूहले आइतबार आयोजना गरेको शुभकामना आदानप्रदान तथा बधाई ज्ञापन कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले भने ‘विगतमा जिल्लावासीको हितका लागि काम गर्दै आएको छु, जिल्लाको विकासका लागि सधैँ क्रियाशील रहन्छु।’ उक्त कार्यक्रममा स्थानीयले मन्त्रीलाई विभिन्न विकासका मागसहित ज्ञापनपत्रसमेत बुझाए ।

तनहुँ क्षेत्र नम्बर १ का जनताले आफूलाई विश्वास गरेको र जनताको भावनाअनुसार विकास निर्माणका कामका लागि सदैव प्रतिबद्ध रहेको मन्त्री श्रेष्ठले बताए । आमा समूहकी अध्यक्ष अम्बिका पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का पोलिटब्यूरो सदस्य प्रतापलाल श्रेष्ठ, केन्द्रीय सदस्य शंकरनारायण श्रेष्ठलगायतले धारणा व्यक्त गरेका थिए।