राजनीति

आफ्नै पहिचान बोकेको नेपाल संवत्, विदेशी तिथि मितिले ओझेलमा (भिडियोसहित)


काठमाडौँ – नेवार समुदायले ११४२ औं नेपाल संवत विभिन्न कार्यक्रम गरी मनाएका छन । प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन नेपाल सम्वत्को नयाँ वर्ष आरम्भ हुने गर्दछ । नेपाल सम्वत्लाई नेवार समुदायले राष्ट्रिय संवतको रुपमा कार्यन्वयन गर्न बर्षोदेखि माग गर्दै आएका छन । तर त्यो मागलाई राज्यले खासै चासो भने दिएको देखिँदैन ।

आजबाट नेवार समुदायले नयाँ वर्षको रुपमा मनाउने नेपालको मौलिक सम्वत समेत रहेको नेपाल संवत ११४२ सुरु भएको छ । राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरूवात गराएको इतिहासमा उल्लेख छ । नेपाल संवत लाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखालगायत नेवार समुदायको बाहुल्यता रहेको स्थानमा विशेष रुपमा मनाउने गरिन्छ । त्यो त यस पटक पनि नेवार समूदायले आज धुमधामसंग नयाँ वर्षको स्वागत गरे ।

नेपाल संवत अर्थात नयाँ वर्षको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको मानव सेवाप्रतिको भावनालाई उच्च सम्मान गर्दै साख्वाको योगदानको कदर गर्ने प्रतिवद्धता व्यक्त गरेका छन । नेपालको गरिवी निर्मूल गर्ने अभियान सुरुवात गरेका राष्ट्रिय विभूति शंखधर साख्वाको योगदानको प्रचारप्रसार गरी सबै मानवको हितलाई सर्वोपरी ठानेर अघि बढनुपर्नेमा प्रधानमन्त्री देउवाले जोड दिएका छन ।
हाल प्रयोगमा रहेका अधिकांश संवतहरु राजाको नामबाट संवतको नामाकरण गरिएको छ ।

विक्रम संवत्,मानदेव संवत, शाके संवत आदी । तर, लिच्छिवीकालीन युगदेखि चलिआएको नेपाल संवत भने कुनै व्यक्ति विशेषको नाममा नभई जनताको प्रतिनिधित्व गर्ने संवत भएको धेरैको तर्क छ । तर राष्ट्रिय संवतको मान्यता पाएको नेपालमा नेपाल संवतको बारेमा कमै चर्चा हुन्छ । आफ्नै अस्तित्व र पहिचान बोकेको नेपाल संवत् विदेशी तिथि मितिका कारण ओझेलमा पर्दै आएको छ । नेपाल संवत ओझेलमा पर्नुको कारण सरकार नै दोषि भएको जानकारहरुको तर्क छ ।

भारत उज्जैनका राजा विक्रमादित्य द्वितीयले ल्याएको विक्रम संवत् नेपालको सरकारी कामकाजको संवत छ । नेपालको मौलिक संवत भने विगत झै आज पनि नेवारी समुदायको नयाँ वर्षको रुपमा मात्र परिचित छ । विगत लामो समयदेखि नेपाल संवतलाई सरकारी कामकाजको संवत बनाउने अभियान सञ्चालन गरे पनि यसको कार्यन्वयन हुन सकेको छैन । नेवारी समूदायलाई यो लक्ष्य आकाशको फल जस्तै बनेको छ ।