काठमाडौँ – उत्तर कोरियामा भोकमरीको अवस्था सन् १९९० को जस्तै हुन थालेको छ । सन् १९९० मा उत्तर कोरियामा भोकमरीका कारण लाखौँ मानिसले ज्यान गुमाएका थिए ।
अहिले पनि दिनमा एक पटक पेट भर्न पनि निकै सङ्घर्ष गर्नुपर्ने अवस्था आएको उत्तर कोरियाबाट भागेकाहरूलाई उदृत गर्दै बीबीसीले जनाएको छ । हिउँदयाम नजिकिँदै गर्दा खाद्य अभाव झनै खराब अवस्थामा पुग्ने अनुमान छ । सडकमा अनाथ बालबालिकाको सङ्ख्या बढ्नुका साथै भोककै कारण दैनिक ज्यान गइरहेको समाचार संस्था डेली एनकेले जनाएको छ ।
संयुक्त राष्ट्र सङ्घले उत्तर कोरियामा दुईदेखि तीन महिनासम्म अन्नको अभाव हुने आकलन गरेको छ । किम जोङ उनले पनि अन्नको जोहो गर्न र बाली भित्राउन मद्दत गर्न निर्देशन दिएको बताइएको छ । कोरोना महामारीका कारण सीमाहरू बन्द गरिएका छन् भने परमाणु कार्यक्रम विवादका कारण उत्तर कोरियाले अन्तर्राष्ट्रिय प्रतिबन्ध पनि खेपिरहेको छ ।
खेतीका लागि सेनासहित हजारौँ मानिस खटाएको भए पनि लामो खडेरीका कारण उत्पादन सोचे अनुसार भएको छैन । विज्ञहरूका अनुसार उत्तर कोरियाले नयाँ सैन्य प्रविधि र हतियारमा प्रतिस्पर्धा गरे पनि कृषिमा आधुनिक प्रणाली विस्तार भएको छैन ।
प्रतिक्रिया