राजनीति

विवेकशीलको नयाँ निर्णय निर्वाचन आयोगमा अद्यावधिक


काठमाडौँ – विवेकशील साझा पार्टीले निर्वाचन आयोगमा अद्यावधिक गरेको छ। नयाँ विधान र केन्द्रीय समिति सदस्य १२४ सदस्यीय हुने गरी आयोगमा अद्यावधिक गराएको हो ।

विवेकशील र साझा पार्टी एकीकरण हुँदा १३० सदस्यीय केन्द्रीय कमिटी बनाउने उल्लेख थियो। तर ५ जनाको राजीनामा र एक जनाको देहावसानका कारण अब १२४ रहने निर्णय गरेको हो । गत कार्तिक ११ गते रवीन्द्र मिश्रको अध्यक्षतामा बसेको बैठकले नयाँ विधान र केन्द्रीय सदस्य संख्या १२४ बनाउने निर्णय गरेको थियो।

नयाँ विधान र केन्द्रीय समिति सदस्यबारे आयोगलाई पत्राचार गरेर जानकारी गराइएको र बुधबार आयोगले अद्यावधिक गरिसकेको पार्टीका प्रवक्ता शरदराज पाठक प्रवक्ता बताउँछन्। उनकाअनुसार अब पार्टीको कामकारबाही अघि बढाउन कुनै कानुनी अवरोध हुने छैन।

अध्यक्ष मिश्रले फरक मत राख्नेहरूलाई केन्द्रीय समितिले गरेको निर्णय र आयोगको निर्णय सम्मान गर्न आग्रह गरेको प्रवक्ता पाठक बताउँछन्।

विवेकशील साझामा अध्यक्ष मिश्र र संयोजक मिलन पाण्डे छन्। संयोजक पाण्डेले भने मिश्रलाई एकलौटी हिसावले केन्द्रीय समिति बैठक गर्ने अधिकार नभएको बताइरहेका छन्।

संघीयता खारेजी र धर्मनिरपेक्षतामा जनमतसंग्रहबारे मिश्रले राखेको प्रस्ताव उनीपक्षका केन्द्रीय सदस्यहरूले पारित गरेका थिए भने उक्त बैठकमा पाण्डे पक्षका केन्द्रीय सदस्य उपस्थित थिएनन्।

पछिल्लो समय अध्यक्ष मिश्र र संयोजक पाण्डे पक्षबीच विवेकशील साझा पार्टीभित्र एक(अर्को प्रस्ताव ल्याउने र भिन्नभिन्न केन्द्रीय समिति बैठक बस्ने गरेको छ।

संयोजक पाण्डे पक्षको केन्द्रीय समिति बैठकले पार्टी प्रवक्ता नै परिवर्तन गर्ने निर्णय गरेका थिए।