राजनीति

कांग्रेस एक्लै लडेर चुनाव जित्छ : गगन थापा


काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले अहिले नै अर्ली इलेक्सन सम्भव नभएको बताएका छन् । उनले नेकपा एमालेले चाहेको जस्तो अर्ली इलेक्सन अहिले असम्भव भएको प्रतिक्रिया दिएका हुन् ।

नेपाली कांग्रेस गुण्डुले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले वैशाखमा स्थानीय तहको निर्वाचनबाहेक अरू कुनै निर्वाचन समयअगाडि नहुने बताएका हुन् । नेता थापाले राष्ट्रियसभाको रिक्त हुने सदस्य पदमा चुनाव हुँदैछ भने प्रतिनिधिसभा र प्रदेशसभाका रिक्त पदमा पनि उपनिर्वाचनको लागि सरकारले तयारी गरेको जानकारी दिए ।

“कांग्रेस पहिला पनि एक्लै चुनाव लडेर ठूलो पार्टी भएको हो र अहिले पनि एक्लै चुनाव लडेर ठूलो पार्टी बन्छ”, उनले भने, “आगामी निर्वाचनमा कांग्रेस एक्लै लडेर पनि एमालेलाई केन्द्र, प्रदेश र स्थानीय तहबाट हराउँछ ।”

नेता थापाले प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर आफूले सरकारले गरेका राम्रा र नराम्रा कामबारे जानकारी लिएको बताउँदै नराम्रा काम नगर्न सरकारलाई आग्रह गरेको जानकारी दिए ।