राजनीति

सङ्कटग्रस्त जिल्ला घोषणाका लागि पहल गर्छु : गृहमन्त्री खाँण


काठमाडौँ – बाढीपहिराबाट ठूलो जनधनको क्षति भएको बझाङलगायत सुदूरपश्चिमका डडेल्धुरा र बैतडीलाई सङ्कटग्रस्त जिल्ला घोषणा गर्न पहल गर्ने गृहमन्त्री बालकृष्ण खाँणले बताउनुभएको छ ।

प्रधानमन्त्रीको कार्यभारसमेत सम्हाल्नुभएका गृहमन्त्री खाँणले बझाङको खप्तड छान्नाको ऐचेली बगर पुग्नु भएको खाँणले बाढीपहिराबाट प्रभावित स्थानीय नागरिकसँग क्षतिबारे छलफल गर्नुभयो । उहाँले प्रधानमन्त्री विदेशबाट फर्कीसकेपछि मन्त्रिपरिषद्को निर्णयबाट बझाङ, बैतडी र डडेल्धुरा जिल्लालाई विपद्ग्रस्त क्षेत्र घोषण गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

मन्त्री खाँणले बाढीपहिरामा परेर मृत्यु भएकाको परिवार र घरसमेत नष्ट भएका परिवारका लागि तत्कालै सरकारले प्रतिपरिवार रु ५० हजार दिने निर्णयसमेत गरिसकेकाले सो रकम लिनका लागि स्थानीयवासीलाई आग्रह गर्नुभयो । उहाँले प्रभावित परिवारलाई प्रक्रिया पुर्याएर प्रमुख जिल्ला अधिकारीमार्फत तत्काल राहत उपलब्ध गराउने जानकारी दिनुभयो ।