राजनीति

प्रधानन्यायाधीशको राजीनामाबारे जुटेन सहमति, न्यायाधीश र बारले पुनः आन्दोलन चर्काउने (भिडियोसहित)


काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजीनामा प्रकरण तत्काल साम्य हुने सम्भावना देखिएको छैन । सम्मानजनक बर्हिगमनको विषयमा सहमति नजुटेपछि न्यायाधीहरु र नेपाल सर्वोच्च बार एशोसिएशनले बिरोध प्रदर्शन जारी राखेका छन् । जसले गर्दा न्यायालयको इज्जतमा थप दाग लाग्ने देखएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामाको माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल बार एशोसिएशनले मंगलबार पनि बिरोध प्रदर्शन जारी राखेको छ ।

विरोध कार्यक्रममा वरिष्ठ अधिवक्ता तथा पूर्व महान्यायाधिवक्ता रमण श्रेष्ठले बारको निर्णयलाई लत्याउने काम नगर्न प्रधान्यायाधीश जबरालाई चेतावनी दिए । उनले न्यायालय गम्भीर अवस्थामा पुग्दा समेत राजनीतिक दलहरु नबोलेको भन्दै यसप्रति राजनीतिक दलहरुले आफ्नो दायित्व पूरा गर्नुपर्ने बताए ।

उनले प्रधानन्यायाधीश जबरा न्यायालयमा रहुन्जेल निष्पक्ष र स्वतन्त्र ढंगले न्यायालय सञ्चालन हुन नसक्ने दाबी समेत गरे । पूर्व महान्यायाधिवक्ता श्रेष्ठले प्रधानन्यायाधीशले न्यायालय हाँक्न नसक्दा यो अवस्था सिर्जना भएको बताए । उनले प्रधानन्यायाधीश जबराको कार्यकालमा न्यायाधीशले विचौलियाको काम गर्ने अवस्था सिर्जना भएको आरोप लगाए ।

सर्वोच्च अदालत बार एशोसिएशनका अध्यक्ष पूर्णमान शाक्यले अहिले प्रधनन्यायाधीशको राजीनामा नै कानून व्यवसायीको बटमलाइन भएको बताए । उनले प्रधानन्यायाधीशको राजीनामा शुरुवात मात्रै भएको बताउँदै न्यायपालिका सुधारका लागि निरन्तर लागि पर्ने बताए ।

वरिष्ठ अधिवक्ता हरिहर दाहालले प्रधानन्यायाधीश जबराले मन लागेका मुद्दा मन लागेका न्यायाधीशहरुलाई दिएको आरोप लगाए । उनले न्यायमा निष्पक्षता नभएको बताउँदै बेन्च सेटिङले थप समस्या उत्पन्न भएको बताए । उनले न्यायालय धरापमा पर्दा समेत राजनीतिक दलहरु मौनता साँधेर बस्ने हो भने राजनीतिक दलहरुको पनि राम्रो नहुने बताए । नेताहरुको चाकडी गर्न नसक्ने बताउँदै उनले राजनीतिक दलले आफ्नो भूमिका राम्रोसँग निभाउन नसकेको आरोप लगाए ।

नेपाल बारका पूर्व अध्यक्ष तथा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले न्याय अधोगति तिर गएको तर्क गरे । उनले न्याय क्षेत्रमा लागेका धेरै युवा तथा विद्वानहरुले न्यायालयको कारण प्रतिभा देखाउन नपाएको बताउँदै न्याय जनता र सक्षम व्यक्तिको नेतृत्वमा हुनुपर्ने बताए । नेपाल बारका अध्यक्ष चण्देश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराका कारण न्याय अवरुद्ध र विचलनमा रहेको आरोप लगाए । उनले प्रधान्यायाधीशले पदमा बस्न कुनै अधिकार नभएको भन्दै तत्काल राजीनामा दिनुपर्ने बताए । अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराले तत्काल राजीनामा दिन आलटाल गरे रञ्जन कोईरालाको बेलामा भएको सडक आन्दोलन भन्दा ठूलो आन्दोलन चर्काउने चेतावनी दिए ।