राजनीति

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीको दाबी


काठमाडौँ – सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)ले दाबी गरेको छ । सोमबार प्रदेश राजधानी धनगढीमा पत्रकार सम्मेलन गर्दै नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा आफ्नो दाबी रहेको बताएको हो ।

पत्रकार सम्मेलनमा सुदूरपश्चिम इन्चार्ज गरिमा शाहले प्रदेशसभाको सबैभन्दा ठुलो दलले सरकारको नेतृत्व पाउनुपर्ने बताउनुभयो । नेकपा एकीकृत समाजवादीको कात्तिक १० गते धनगढीमा सम्पन्न प्रदेश कमिटीको बैठकले प्रदेश सरकारमा दाबी गर्ने निर्णय गरेको भन्दै उहाँले ठुलो दलको हैसियतले सरकारको नेतृत्व गर्ने आफूहरूले पाउनुपर्ने बताउनुभयो ।

नेकपा (एकीकृत समाजवादी)का सुदूरपश्चिम प्रदेश अध्यक्ष विक्रम शाहीको अध्यक्षतामा बसेको बैठकले सबैभन्दा ठुलो दलको हैसियतले सरकारको नेतृत्व गर्ने गरी केन्द्रलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।