बिजनेस

सामलिङ्ग पावरको आईपीओ मंगलबार विहान बाँडफाँड हुने


काठमाडौँ – सामलिङ्ग पावर कम्पनी लिमिटेडले सर्वसाधारणको लागि निष्कासन गरेको शेयर भोलि अर्थात मंगलबार बिहान बाँडफाँड हुने भएको छ । शेयर निष्कासन तथा विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले बिहान ८ः३० बजे शेयर बाँडफाँट गर्ने तयारी गरेको हो ।

कम्पनीको आइपीओमा २२ लाख ६५ हजार ६९८ आवेदकले २ करोड ६९ लाख ३३ हजार ५ सय कित्ताका लागि आवेदन दिएका थिए । कम्पनीले सर्वासाधारणलाई छुट्याएको ६ लाख ७८ हजार ९ सय कित्ता शेयर खरिदमा मागभन्दा ३९ दशमलव ६७ गुणा बढी आवेदन परेको हो । कम्पनीले कात्तिक ४ गते देखि ८ गते सम्म ७ लाख ३० हजार कित्ता आइपीओ निष्कासन गरेको थियो ।

जसमध्ये १४ हजार ६ सय कित्ता शेयर कर्मचारीहरुको लागि ,३६ हजार ५ सय कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको र बाँकी रहेको ६ लाख ७८ हजार ९ सय कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका हुन । कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकाले गोलाप्रथाद्धारा बाँडफाँट हुनेछ । यसरी हेर्दा कम्पनीको आइपीओ ६७ हजार ८९० जनाले मात्र १०कित्ता शेयर पाउनेछन भने बाँकी २२ लाख आवेदकको हात खाली हुने देखिन्छ ।