देश

ऊर्जा दक्षताका लागि तत्काल कानूनी व्यवस्था गर्नुपर्नेमा विज्ञहरूको जोड


काठमाडौँ – वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले ऊर्जा दक्षता तथा संरक्षणका लागि आवश्यक कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक डा. मधुसुधन अधिकारीले ऊर्जा क्षेत्रमा भईरहेको गलत अभ्यासलाई रोक्न र सही अभ्यासलाई अघि बढाउन पनि ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले ऊर्जा दक्षता तथा त्यसको संरक्षण सम्बन्धि कानुन तत्काल ल्याउनुपर्ने बताउनु भएको हो ।

केन्द्रको रजत महोत्सवको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित ऊर्जा दक्षता प्रवद्र्धनसम्बन्धि राष्ट्रिय गोष्ठीमा बोल्दै उहाँले कम खपत गरेर ऊर्जा दक्षता अभिवृद्धि गरी ऊर्जा क्षेत्रको प्रवद्र्धनमा लाग्न सरोकारवाला सबै निकायलाई आह्वान पनि गर्नु भयो ।

ऊर्जा दक्षता अभिवृद्धिका लागि आवश्यक प्रविधिको विकासमा केन्द्रले काम गरिरहेको कार्यकारी निर्देशक अधिकारीले जानकारी दिनु भयो ।