राजनीति

प्रदेश १ मा कार्यतालिका फेरियो, मुख्यमन्त्रीले विश्वासको मत नलिई राजीनामा दिने


काठमााडौँ – प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिने भएका छन् । यसअघि दिउँसो साढे १२ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले राखेको प्रस्तावमा मत विभाजन हुने कार्यसूची थियो । तर बहुमत नपुग्ने भएपछि उनले त्यस अगाडि नै राजीनामा दिन लागेका हुन् ।

मुख्यमन्त्री आचार्यले कात्तिक ७ गते विश्वास लिने प्रस्ताव सदनमा पेस गरेका थिए । तर, मतदान नभई बैठक आजसम्मका लागि सारिएको थियो । तर सारिएको दिनको अन्तिम समयमा आएर आचार्यले आज राजीनामा दिन लागेका हुन् । बैठक सार्न कांग्रेस र एमालेले छुट्टाछुट्टै आग्रह गरेका थिए ।

गठबन्धनको बैठकले नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र राईलाई नयाँ मुख्यमन्त्रीका रूपमा अघि सारेको छ । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले राईलाई मुख्यमन्त्रीका रुपमा अघि सारेका हुन् । ९२ सदस्यीय प्रदेश १ सभामा बहुमतका लागि ४७ मत आवश्यक पर्दछ । अहिले एमालेका ४१ सांसद छन् भने विपक्षी गठबन्धनमा ५० सांसद रहेका छन् । राप्रपाका एक सांसद भने तटस्थ देखिएका छन् ।

एकीकृत समाजवादीका राजेन्द्र पाण्डे यही कात्तिक ११ गते बागमती प्रदेशको मुख्यमन्त्री बनेका थिए ।